
काठमाडौं। बढ्दो गर्मीसँगै ब्रोइलर कुखुराको मासुको भाउ घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बुधबारदेखि लागु हुने गरी नयाँ मूल्य सामायोजन गरेको छ।
संघका अनुसार जिउँदो कुखुराको मूल्य केजीमा १० रुपैयाँ घटेको छ। अब प्रति केजी २७० रुपैयाँ भएको छ। यसअघि मूल्य बढ्दै प्रति केजी २८० रुपैयाँ पुगेको थियो।
संघले तयारी मासुको उपभोक्ता मूल्य प्रति केजी ३८० रुपैयाँ तोकेको छ। यसअघि संघले तयारी मासु प्रति केजी ३९५ रुपैयाँ पुर्याएको थियो।
यतिबेला कुखुराको मूल्य गर्मीका कारण घट्न थालेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर वीसीले बताए।अहिले बजारको माग अनुसार उत्पादन पर्याप्त छ। किसानका खोर र पोल्ट्री फर्महरुबाट गत चैतदेखि नयाँ लटमा उत्पादित कुखुरामा बजारमा आउन थालेका छ।
संघका अनुसार पहाड र तराईका बजारमा कुखुराको मासुको खपतमा कमी आएको छ। पहाडका तुलनामा तराईका बजारमा माग निकै घटेको छ। बढ्दो गर्मीका कारण यस्तो भएको अनुमान संघको छ।
अध्यक्ष वीसीका अनुसार हाल देशभर कुखुराको मासुको खपत दैनिक ५ केजी लाख हाराहारी छ। ‘काठमाडौं उपत्यकामा ३ लाख केजी र बाहिरका जिल्लामा २ लाख केजीमात्र खपत भइरहेको छ,’ उनले भने, ‘पहिले देशभर दैनिक खपत साढे ५ लाख केजी हुने गरेको थियो।’
गर्मी उच्च भएसँगै उत्पादन पनि विस्तारै घट्ने देखिएको छ।