
काठमाडौं। सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ। नेप्से सूचक मंगलबार १४.८७ अंकले घटेर २६३४.२३ विन्दु कायम भएको छ।
विकास बैंक, लाइफ इन्स्योरेन्स र उत्पादन तथा प्रशोधन क्षेत्र बाहेकका उपसमूहले बजार घटाएका हुन्।
ट्रेडिङको सूचक सर्वाधिक २.४६ प्रतिशतले घटेको छ। १६८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ६.२२ प्रतिशतले घटेको छ।
७७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। युनिभर्सल पावर कम्पनीको सर्वाधिक ६७ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यस्तै, ङादी ग्रुप पावरको ५२ करोड ९० लाख र नेपाल माइक्रो इन्स्योरेन्सको ५१ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।