काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत स्वास्थ्य बीमाबाट उपलब्ध गराउँदै आएको सुविधा थैली परिमार्जन गर्ने बताएको छ।
‘स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिनेछ। गम्भीर रोगको उपचारसमेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिनेछ। बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुनर्संरचना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
स्वास्थ्य बीमा बोर्डमा जनशक्ति नहुँदा प्रभावकारी रुपमा काम गर्न सकेको छैन। बोर्डको कमजोर नियमनले एकातिर स्वास्थ्य बीमा बापत उपलब्ध हुने सुविधाको दुरुपयोग बढ्दो छ भने अर्कातिर सेवाको गुणस्तर कमजोर छ।
सरकारले स्वास्थ्य बीमा प्रणालीलाई एकीकृत गर्ने कुरा यसपटक पनि दोहोर्याएको छ। सामाजिक सुरक्षा कार्यक्रममा बढ्दो दायित्वलाई कम गर्न स्वास्थ्य बीमा र सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत मोडलमा लागू गर्ने घोषणा दोहोर्याइएको हो।
‘बीमा प्रणालीमाथिको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधिहरू बीमा प्रणालीमा जोडिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘छरिएका सबै स्वास्थ्य सेवालाई एकीकृत गरी स्रोत अभावलाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायत सबै स्वास्थ्य सेवा र सुविधा दिने संस्थाहरुको सेवा प्रभावकारी बनाइनेछ।’










