एसएमईको आइपीओका लागि सेबोनमा परेन आवेदन, विनियमावली बनाउँदै नेप्से

बिजमाण्डू
२०८२ बैशाख १४ गते १२:४३ | Apr 27, 2025
एसएमईको आइपीओका लागि सेबोनमा परेन आवेदन, विनियमावली बनाउँदै नेप्से


काठमाडौं। साना तथा मझौला कम्पनी (एसएमई)लाई आइपीओ निष्कासनमार्फत सेयर बजारमा ल्याउन बनाएको कानुनी आधार तयार गरिएपनि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एउटै आवेदन नपरेको पाइएको छ।

Tata
GBIME
NLIC

साना तथा मझौला कम्पनीका लागि आइपीओ निष्कासन गरेर बजारमा ल्याउन एसएमई सम्बन्धी नियमावली जारी गरिएको चार महिना भएपनि सेबोनमा यो अवधिमा एउटै निवेदन नपरेको हो

‘साना कम्पनीलाई बजारबाट पुँजी जुटाउने कानुनी आधार तयार भएको चार महिना भएपनि अहिलेसम्म आइपीओ निष्कासनको अनुमति माग्दै एउटै कम्पनी आएका छैनन,’ सेबोन स्रोतले भन्यो।

सेबोनका तत्कालीन अध्यक्ष रमेश कुमार हमालले ‘एसएमई प्लेर्टफर्म’ सञ्चालनमा ल्याउन भन्दै नियमावलीको मस्यौदा बनाएर २०७९ चैतमा स्वीकृतिका लागि अर्थ मन्त्रालय पेस गरेकामा मन्त्रिपरिषद्‍ले दुई वर्षपछि गत पुस ९ गते स्वीकृत गरेको थियो।

मन्त्रिपरिषद्बबाट नियमावली स्वीकृत भएपछि सेबोनले माघ पहिलो साता कार्यान्वयन गर्न नेप्से र सीडीएस एण्ड क्लियरिङलाई पत्राचार गरेको थियो। नियमावली अनुसार एसएमईको सेयर कारोबार नेप्सेले गराउनेछ।

नेप्सेले आइपीओ निष्कासन गर्ने कम्पनीको कारोबार सेयर गराउन विनियमावली बनाइरहेको छ। विनियमावलीलाई केही दिनमा सञ्चालक समितिबाट स्वीकृत गराउने तयारी छ।

‘एसएमईको कारोबारका लागि हामीले विनियमावलीको मस्यौदा तयार गरेका छौं। तर, अहिलेसम्म एउटा पनि कम्पनीले आइपीओ निष्कासन गरेनन्। सेबोनबाट आइपीओ अनुमति पाएर आएपछि हामीले कारोबारको प्लेर्टफर्म दिने हो। आइपीओ नै निष्कासन नगरेपछि के कारोबार हुन्छ?,’ स्रोतले भन्यो, ‘कम्पनीको भ्यालुयसन कसैले घटाउन चाहँदैन। एसएमईमा किन जाने? बरु २६ करोड पुँजी बनाएर अरु कम्पनीसँगै सूचीकृत हुने भन्ने हिसाबले सेयरधनीले सोच्छ। त्यसैले एसएमईले आइपीओका अहिलेसम्म आवेदन नदिएको हुनसक्छ।’

एसएमईका लागि अ‍धिकतम् २५ करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ।

कम्पनीहरूले जारी पुँजीको न्यूनतम ३० देखि अधिकतम ४९ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ। कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम ५०० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था छ।

कम्पनीहरुलाई आइपीओ निष्कासन प्रक्रियामा समेत सहजीकरण गरिएको छ। उनीहरूले रेटिङ नगरी आइपीओ निष्कासन गर्न सक्ने छुट छ।

पछिल्लो ३ वर्ष लगातार नाफामा गएको तथा चुक्ता पुँजीभन्दा प्रति सेयर नेटवर्थ बढी भएको एसएमईले प्रिमियम मूल्यमा पनि आइपीओ जारी गर्न पाउने व्यवस्था छ।