
काठमाडौं। ‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेको छन्। आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै ठगी गर्नेहरूलाई पक्राउ गरिएको प्रहरी जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं-३१ बस्ने ललितपुरको महालक्ष्मी-१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, सोही स्थान बस्ने नुवाकोटको विदुर-५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङको तुल्सीपुर-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन्।
पक्राउ परेकामध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जनाबाट ८ लाख रूपैयाँ लिएकी थिइन्। केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जनाबाट ८ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जनाबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उरूषालाई काठमाडौं-३१ बाट शनिबार पक्राउ गरेको थियो। त्यस्तै, केदार काठमाडौं-३२ बाट शुक्रबार र पोषणराज तुल्सीपुर-६ बाट बुधबार पक्राउ परेका थिए।
उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ। पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।