एमालेले यातायातमन्त्रीलाई दियो २५ बुँदे सुझाव, दाहालले भने- अधुरा योजना पूरा गर्न ध्यान दिन्छौँ

बिजमाण्डू
२०८२ बैशाख ६ गते १७:२३ | Apr 19, 2025
एमालेले यातायातमन्त्रीलाई दियो २५ बुँदे सुझाव, दाहालले भने- अधुरा योजना पूरा गर्न ध्यान दिन्छौँ


काठमाडौं। नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई २५ बुँदे सुझाव दिएको छ।

Tata
GBIME
NLIC

शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा विभागीय प्रमुख गोकर्ण विष्टले सरकारको कामलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट सुझाव दिइएको बताए।

एमालेले सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयसँग सम्बन्धित विभिन्न विषयहरू समेटेर लिखित सुझाव दिएको हो। योजना तथा कार्यक्रमहरूलाई नागरिकसम्म प्रभावकारी रुपमा पुर्‍याउन सरकारको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्नु पर्ने विषयहरू प्राथमिकताका साथ समेटेर सुझाव दिइएको विष्टले बताए।

राष्ट्रिय गौरवका तथा राष्ट्रिय महत्त्वका आयोजनाहरू, विकट तथा दुर्गम क्षेत्र, रणनीतिक महत्त्वका योजना, आर्थिक विकास र रोजगारी सिर्जनाका योजना लगायतलाई नीति कार्यक्रम तथा बजेटमा समावेश गर्न एमालेको सुझाव छ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका मन्त्री दाहालले पार्टीबाट अल्पकालीन तथा दीर्घकालीन आवश्यकताहरूलाई सम्बोधन हुने गरी महत्त्वपूर्ण सुझाव आएको बताए। आगामी वर्षको बजेटमा निर्माणाधीन तथा अधुरा योजनाहरू पूरा गराउन प्राथमिकता दिइने उनले उल्लेख गरे।

सडक सञ्जाल नपुगेका ठाउँमा पुर्‍याउने, आफ्नै देशको एक भागबाट अर्को भागमा पुग्न अरु देशको बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटाउने, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने, राजश्व संकलन तथा वैदेशिक व्यापारलाई सहज गराउने लगायतका क्षेत्रमा बजेटले प्राथमिकता पाउने उनको भनाइ थियो।

समुद्रमा नेपाली पानी जहाजको पहुँच स्थापित गर्न अन्तर्राष्ट्रिय सन्धि तथा कानुनहरूको अध्ययन भइरहेको, सार्वजनिक यातायातलाई व्यवस्थित पार्न प्रविधियुक्त बनाउने काम भइरहेको, रुग्ण आयोजनाहरूको पहिचान गरी समस्या समाधान तथा रेल मार्ग विस्तार र निर्माणमा देखिएका समस्या निराकरणतर्फ मन्त्रालयले ध्यान दिएको मन्त्री दाहालले बताए।