काठमाडौं। एनएमबी बैंकले चालु आर्थिक वर्षमा राम्रो नाफा आर्जन गर्न सक्ने आँकलन गर्दै लगानीकर्ता बैंकको शेयरमा आकर्षित भएका छन्। विदेशबाट ऋण ल्याएर लगानी गरिरहेको बैंकले बम्पर नाफा गर्ने आँकलन गरिएको छ।
बैंकको बुधबारमात्रै प्रतिकित्ता १० रुपैयाँले बढेको छ। बुधबारको बजार मूल्य एक वर्ष यताको अधिकतम मूल्य हो। बुधबारको मूल्य बोनस शेयर वितरण पस्चातको मूल्य समायोजन पछिको हो। लगभग तीन घण्टाको अवधिमा बैंकको ५ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ।
बैंकको मूल्य बढेसँगै कारोबार रकम पनि बढिरहेको छ।
दोस्रो बजारमा विगत केही दिनदेखि अधिकतम कारोबार हुने सूचीभित्र एनएमबी बैंकको शेयर पर्दै आएको छ।
बैंकले गत वर्ष ३३३ रुपैयाँमा एफपिओ निष्कासन गर्दा दोस्रो बजारमा मूल्य ३३३ रुपैयाँभन्दा तल झरेको थियो। बैंकले एफपिओ धनीहरुलाई समेत ४५ प्रतिशत लाभांश दिइसकेको छ।
बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी २५ रुपैयाँ छ। तेस्रो त्रैमासिक वित्तीय विवरणमा अझै सुधार हुने बजारमा चर्चा छ।
लाभांश वितरण पश्चात पनि बैंकको जगेडा कोषमा अझै ९ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ र जगेडामा ९ अर्ब २४ करोड रुपैयाँ रहेको बैंकले आगामी वर्ष अझै राम्रो लाभांश दिन सक्ने भन्दै लगानीकर्ता आकर्षित भएको एक ब्रोकरले बताए।