आफ्नो क्षेत्रमा बजेट पार्न मन्त्रालय चाहर्दै सांसद, ‘योजनाका लागि मेयरले पनि दिन्छन् दबाब’

प्रकाश भण्डारी
२०८२ बैशाख ४ गते २१:३९ | Apr 17, 2025
आफ्नो क्षेत्रमा बजेट पार्न मन्त्रालय चाहर्दै सांसद, ‘योजनाका लागि मेयरले पनि दिन्छन् दबाब’


काठमाडौं। बुधवार नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला आफ्नो निर्वाचन क्षेत्र हेटौंडा-२ का मतदातासँग छलफल गरिरहेका थिए। सिंहदरवास्थित बर्तौलाको कार्यकक्षमा भएको छलफलपछि उनलाई भेट्न आएका एक जनाले भने – यसपटक त्यो भित्री बाटोका लागि बजेट हालिदिनु पर्‍यो भनेर माननीयज्यूले भनिदिनुपर्‍यो।

Tata
GBIME
NLIC

बर्तौलाले तत्काल जवाफ फर्काए, ‘त्यो बाटोको अहिले कुरा नगर्नुस् न। पछि प्रदेशबाट के हुन्छ त्यताबाट पनि कुरा गरौंला।’ बजेटकै विषयलाई लिएर बर्तौलालाई भेट्न मतदाता मात्रै पुग्ने गरेका छैनन्, स्थानीय जनप्रतिनिधि समेत छन्।

आफ्नो पालिकामा बजेट हाल्न लगाइदिन भनेर दैनिक जनप्रतिनिधिले भेटेर दबाब दिने गरेका छन्।

महेश बर्तौला

‘म त वाक्क भइसकें। स्थानीय सरकार पनि सरकार नै त हुन्। उहाँहरूले पनि बजेट हाल्नका लागि तपाईंले भनिदिनुपर्‍यो भनेर भन्नुहुन्छ। अहिले हामीले मन्त्री त मन्त्री नै थिए, कर्मचारीलाई पनि गएर लौ न हजुर भन्नुपरेको छ,’ बर्तौलाले भने। 

बर्तौलाले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई भेटेर आफ्नो निर्वाचन क्षेत्रमा स्कुल र गुम्बाका लागि बजेट व्यवस्था गरिदिन भनेका छन्।

बर्तौला जस्तै अहिले अधिकांश सांसदहरूको दिनचर्या नै बजेटका लागि मन्त्रालय र योजना आयोग धाउने भएको छ। आफ्नो निर्वाचन क्षेत्रमा योजना पार्न सकिए अर्को पटक पनि चुनाव जित्न सकिन्छ भन्ने बुझाइमा सांसद छन्। शीर्ष र पार्टीका प्रभावशाली नेताहरूले बढी बजेट आफ्नो क्षेत्रमा पार्ने र अरू ठाउँको विकास निर्माणलाई महत्त्व नदिने गुनासो सांसदहरूको छ। ‘बजेटको समानुपातिक वितरण हुनुपर्‍यो। आवश्यकताका आधारमा मात्रै विकास निर्माण गर्नुपर्छ। कसैको पहुँचकै आधारमा बजेट दिनु हुन्न भन्ने हो। तर, यहाँ के भएको छ भने सक्नेहरूले बजेट धमाधम आफ्नो क्षेत्रमा पार्ने गरेका छन्,’ नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले भने।

देव प्रसाद तिमल्सिना

आफ्नो निर्वाचन क्षेत्रमा सिंचाइका लागि बजेट माग गरेर अर्थ मन्त्री पौडेल र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का तिमल्सिनाले भेटेका थिए। दुवै मन्त्रीले बजेटका लागि आश्वासन दिएका छन्। ‘मेरो निर्वाचन क्षेत्रमा अरू कुरा भन्दा पनि आवास, सिंचाइको समस्या छ। त्यही कुरा मैले पनि मन्त्रीहरूलाई राखेको छु। उहाँहरूले आश्वासन त दिनुभएको छ,’ तिमल्सिनाले भने। 

विकास निर्माणमा बजेट चाहियो भनेर निर्वाचन क्षेत्रका जनताले आफूहरूलाई ज्ञापन पत्र बुझाएको र त्यसैका आधारमा सरकारसँग बजेट माग गरेको उनको भनाइ छ। 

मंगलबार जनता समाजवादी पार्टी (जसपा) की सांसद रञ्जु झाले योजना आयोग पुगेर बजेट माग गरिएको सूची नै बुझाएकी छन्। ‘पूर्व अर्थमन्त्री वर्षमान पुनले त सबैलाई बोलाएर ५/५ करोड त दिनुभयो। यसपाला के गर्छ कसो गर्छ भन्ने हामी माननीयका बीचमा अलमल छ। त्यसकारण मैले अहिले सबै मन्त्रालय, योजना आयोगमा गएर लिखित र मौखिक भनेको छु। अहिले मुख्यगरी जनताको माननीयसँग माग भनेको त सडक र खानेपानी नै हो,’ झाले भनिन्।

रन्जु झा

स्थानीय तहका पदाधिकारहरूले आफूलाई भेटेर बजेटका लागि लबिङ गरिदिन भनेको झाले बताइन। ‘अहिले ७५३ स्थानीय तहबारे कसलाई मतलब छ। उहाँहरूले पनि हामीलाई नै भन्नुहुन्छ। माननीयज्यू हाम्रा पालिकाका योजनाबारे तपाईंले मन्त्रीलाई भनिदिनुपर्‍यो भनेर,’ उनले भनिन्।

शेरबहादुर कुँवर

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले पनि बुधबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर आफ्नो निर्वाचन क्षेत्र अछाम-१ मा योजना पार्न अनुरोध गरेका थिए। तर, पौडेलले पनि आफूलाई भेट्न आउने सांसदहरूलाई आश्वासन दिने गरेका छन् भने टुक्रे योजना संघ सरकारको प्राथमिकतामा नरहेको बताउने गरेका छन्। ‘सानातिना योजना माथिबाट नहाल्ने भनेर उहाँहरू भन्नुहुन्छ। तर पोहोर साल सुरुमा त्यसै भनिएको थियो पछि आफू अनुकूल भयो भनेर हामीले विरोध नै गर्नुपर्‍यो,’ उनले भने। 

कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई खानेपानी र सडक पूर्वाधारका लागि आफ्नो निर्वाचन क्षेत्रको ज्ञापनपत्र बुझाएका छन्।  ‘जनताका जे जस्ता माग छन् ती जस्ताको तस्तै लिखित र मौखिक मन्त्रीज्यूका अगाडि राखेको छु। त्यसमा अब के कसरी बजेटको व्यवस्थापन गर्नुहुन्छ उहाँहरूको कुरा हो,’ कुँवरले भने। 

माधव सापकोटा

माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि सडक र खानेपानीका लागि दाहाललाई भनेको बताए। तर, मन्त्रीबाट कुनै जवाफ नपाएको उनको भनाइ छ। ‘हामीले भन्ने काम निरन्तर नै गरिरहेका छौं। तर, मन्त्रीहरूको ठ्याक्कै जवाफ पाएका छैनौं। हुन्छ भइहाल्छ भन्ने कुरा त सामान्य भयो,’ उनले भने।

बजेटका लागि अर्थमन्त्री विष्णु पौडेलेसँग जनार्दन शर्मा

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि मंगलबार अर्थमन्त्री विष्णु पौडेललाई भेटेर जाजरकोट भूकम्पको पुनः निर्माणका लागि बजेटको माग गरेका छन्। ‘भूकम्पबाट भएको क्षति र बाढी पहिरोबाट प्रभावित जिल्लाहरूको पुनः निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउन र बजेट विनियोजन गर्नेबारे छलफल,’ शर्माले भनेका छन्। 

वनमन्त्री ऐनबहादुर शाहीसँग प्रकाश शरण महत

कांग्रेसका सांसद तथा प्रवक्ता डा.प्रकाशशरण महतले पनि बिहीबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटेर सुन्दरीजल,धाप, मुलखर्क हुँदै चिसापानी जोड्ने सडक बिस्तार गर्न लबिङ गरेका छन्। ‘आरक्षका कारण विस्तार हुन सकेको छैन। त्यसमा सहजीकरण गरेर सडक विस्तार गर्नका लागि वन मन्त्रीजीसँग छलफल गरेको छु,’ उनले भनेका छन्।