काठमाडौं। मौसम खराबीका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। विहान ११ बजे काठमाडौंमा अवतरण हुनुपर्ने चाइना सदर्नको जहाज डाइभर्ट भएर पाँच घण्टादेखि कोलकत्तामै बसिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।
'आज विहान मौसम खराबीका कारण ११ बजे अवतरण हुनुपर्ने जहाज कोलकत्ता डाइभर्ट भएको छ। कोलकत्ता विमानस्थलबाट एयर डिफेन्स कन्ट्रोलको अनुमति नआएका कारण अहिलेसम्म जहाज कोलकत्तामै रहेको छ। यता आउन सकेको छैन।' विमानस्थलका एक कर्मचारीले बिजमाण्डूसँग भने।
यसैगरी विहान १२ बजे अगाडि नै अवतरण हुनुपर्ने सलाम एयरको जहाज पनि बनारस डाइभर्ट गरिएको थियो। यो जहाज दुई घण्टा अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर फर्किसकेको छ।
विमानस्थलका अनुसार आइतबार दिउँसो भने तालिका अनुसारका अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको छ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका जहाजले उडान अवतरण गर्दै आएका छन्। गत अप्रिल एक तारिखदेखि विमानस्थलको धावनमार्ग जिर्णोद्धार गर्ने क्रममा राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द गराइँदै आइएको छ।