राष्ट्र बैंक नेतृत्वविहीन, कार्यवाहक तोकिएन, ऐनअनुसार महिना दिनअघि नियुक्त पनि गरिएन

बिजमाण्डू
२०८१ चैत्र २४ गते ०९:४१ | Apr 6, 2025
राष्ट्र बैंक नेतृत्वविहीन, कार्यवाहक तोकिएन, ऐनअनुसार महिना दिनअघि नियुक्त पनि गरिएन

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद आइतबारबाट रिक्त भएको छ। तर, सरकारले अहिलेसम्म न नयाँ गभर्नर नियुक्त गरेको छ, न त कसैलाई कार्यवाहकको जिम्मेवारी नै दिएको छ।

Tata
GBIME

गभर्नर पदबाट महाप्रसाद अधिकारीले शनिबारदेखि अवकाश पाइसकेका छन्। दुई दिन बिदा परेकाले शुक्रबार नै गभर्नरको बिदाइ गरिसकिएको छ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २५ अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्ति गरि सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गरिसक्नु पर्छ।

तर, सरकारले ऐनअनुसार नयाँ गभर्नर ल्याएको छैन। सत्तारुढ कांग्रेस र एमालेमध्ये गभर्नर कसले राख्ने टुंगो नहुँदा नियुक्त ढिलाइ भएको हो।

‘एमालेले राख्ने कि कांग्रेसले राख्ने टुंगिएको भए त दुई मिनेटमा गभर्नर नियुक्त भइहाल्थ्यो नि,’ सिफारिस समितिका एक सदस्यले बिजमाण्डूसँग भने।

गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनु पर्ने ऐनको दफा २७ मा उल्लेख छ। आज आइतबार रामनवमीको दिन सार्वजनिक बिदा छ। भोलि कार्यालय खुलेपछि कार्यवाहक तोक्ने स्रोतले जनायो।

यद्यपि, कार्यवाहक अर्थ मन्त्रालयले तोक्ने वा मन्त्रिपरिषद्ले नै तोक्ने भन्ने ऐनमा प्रष्ट प्रावधान भने छैन।