चीनमा नयाँ तेलखानी परीक्षणमा, दैनिक ४१३ ब्यारेल तेल र ६८ हजार घनमिटर ग्यास निस्कियो



बिजमाण्डू
२०८१ चैत्र १८ गते १६:३३ | Mar 31, 2025
चीनमा नयाँ तेलखानी परीक्षणमा, दैनिक ४१३ ब्यारेल तेल र ६८ हजार घनमिटर ग्यास निस्कियो
तस्वीर : सिन्ह्वा

बेइजिङ। चीनको ‘नेसनल अफशोर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठूलो तेल खानी पत्ता लगाएर उत्पादन परीक्षण भइरहेको जनाएको छ।

Tata
GBIME
Nepal Life

चीनको गुआङडोङ प्रान्तको शेन्जेनबाट करिब १७० किलोमिटरको दूरीमा हुइझोउ १९–६ तेलक्षेत्र रहेको कर्पोरेसनले जनाएको हो। सीएनओओसीका अनुसार परीक्षण ड्रिलिङबाट दैनिक ४१३ ब्यारेल कच्चा तेल र ६८ हजार घनमिटर प्राकृतिक ग्यास उत्पादन भएको छ।

सरकारी स्वामित्वको तेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत झोउ सिन्ह्वाईले दक्षिण चीन सागरको पूर्वमा तेल र ग्यास अन्वेषणमा क्रमिक सफलताको प्रशंसा गरे। ‘सीएनओओसीले लगातार दुई वर्षमा १० मिलियन टन तेल क्षेत्रहरू पत्ता लगाएको छ, जसले अपतटीय तेल र ग्याँस उत्पादनमा निरन्तर वृद्धिको लागि नयाँ आशा सिर्जना गरेको छ,’ उनले भने।

अमेरिकी इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनले दक्षिण चीन सागरमा क्षेत्रीय विवादका कारण धेरै हदसम्म कम अन्वेषण गरिएको तर पत्ता लागेका अधिकांश तेल र ग्यास निर्विवादित क्षेत्रमा रहेको बताएको छ। चीनले दक्षिण चीन सागरको लगभग सबै भाग आफ्नो भएको दाबी गर्दै आएको छ तर फिलिपिन्स, मलेसिया, भियतनाम, इन्डोनेसिया र ब्रुनाईले यसलाई विवादित बनाएका छन्।

सीएनओओसीका प्रमुख भूगर्भविद् जु चाङगुईले यो खोज ‘ठूलो सफलता’ भएको बताएका छन्। ‘यो खोजले भूगर्भीय भण्डारको हिसाबले दक्षिण चीन सागरको उत्तरी भागमा सबैभन्दा ठूलो ‘क्लास्टिक होल’लाई तेल क्षेत्र साबित गरेको छ,’ उनले भने।

अमेरिकी सरकारको विश्लेषणअनुसार गत वर्ष दैनिक एक करोड ११ लाख ब्यारेल कच्चा तेल आयात गर्दै आएको चीन विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो।- एएफपी/रासस