कुवेत, कतार र हङकङसँग टी-२० सिरिज खेल्दै नेपाल, टोलीमा ठूलो फेरबदल



बिजमाण्डू
२०८१ चैत्र १६ गते १९:४४ | Mar 29, 2025
कुवेत, कतार र हङकङसँग टी-२० सिरिज खेल्दै नेपाल, टोलीमा ठूलो फेरबदल
विश्वकपका दौरान सोमपाल कामी। फाइल फोटो: आईसीसी/ गिट्टी इमेजेज

काठमाडौं। नेपाली क्रिकेट टोलीले हङकङमा चारदेशीय टी-२० सिरिज खेल्ने भएको छ। यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले हङकङ सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

टोलीमा प्रधानमन्त्री कपमा प्रभावशाली प्रदर्शन गरेका खेलाडीले स्थान बनाएका छन्। जसमा किरण ठगुन्ना, रुपेश सिंह, अर्जुन घर्ती, दीपेन्द्र रावतजस्ता खेलाडी छन्। अर्कोतर्फ राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीप लामिछाने, अनिल कुमार शाहलगायतका खेलाडी टोलीमा छैनन्।

हङकङमा नेपालले ९ अप्रिलमा कतार विरुद्ध, १० अप्रिलमा कुवेत विरुद्ध र १२ अप्रिलमा हङकङविरुद्ध खेल्नेछ। १३ अप्रिलमा तेस्रो स्थानको र फाइनल खेल हुनेछ। नेपाली टोलीले सिरिजको तयारी भैरहवामा गर्ने क्यानले जनाएको छ।

क्यानले शुक्रबारमात्रै टोलीको नयाँ प्रशिक्षकको घोषणा गरेको थियो। अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लले नेपालको प्रशिक्षणमा नियुक्त भएका छन्।

२० सदस्यीय टोली

रोहित पौडेल (कप्तान), आशिफ शेख, किरण ठगुन्ना, लोकेश बम, बसीर अहमद, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्सन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम, विवेक यादव