राजसंस्था फर्काउन अराजकताको सहारा, निजी सम्पत्तिमा तोडफोड र लुटपाट ज्ञानेन्द्रलाई बन्दैछ भारी



बिजमाण्डू
२०८१ चैत्र १५ गते १७:३३ | Mar 28, 2025
राजसंस्था फर्काउन अराजकताको सहारा, निजी सम्पत्तिमा तोडफोड र लुटपाट ज्ञानेन्द्रलाई बन्दैछ भारी

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले अराजकताको हद पार गरेका छन्। उनीहरुले निजी घरदेखि सरकारी कार्यालय र गाडीमा आगजनी गरेर अराजकताको हद पार गरेका हुन्।

Tata
GBIME
Nepal Life

प्रदर्शनकारीले भन्सार कार्यालयदेखि राजनीतिक दलका कार्यालयलाई समेत निशाना बनाएका छन्।

राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका ज्ञानेन्द्रका समर्थकले सुरुमा तीनकुनेस्थित एक निजी घरमा आगजनी गरे। तीनकुनेमा भेला भएका प्रदर्शनकारी मीनभवनतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको थियो। प्रशर्शनकारीले प्रहरीमथि ढुंगा प्रहार गरे भने उनीहरुलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो।

अश्रुग्यास प्रहारपछि प्रदर्शनकारी थप हिंस्रक बने। उनीहरुले तीनकुनेमा निजी घरमा तोडफोड गर्नुका साथै सामान बाहिर निकालेर आगो लगाए। महिला प्रहरीमाथि पनि प्रदर्शनकारी जाइलागे। उनीहरुलाई तितरबितर पार्न प्रहरीले हवाई फाइर गर्‍यो।

प्रदर्शनकारी त्यसपछि थप अराजक बने। उनीहरुको एउटा समूह त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसरमा प्रवेश गरेर गाडीमा आगजनी गर्‍यो।

तीनकुनेको चोक क्षेत्र प्रहरीले नियन्त्रणमा लिएपछि प्रदर्शनकारीको समूह संचारमाध्यमदेखि राजनीतिक दलको कार्यालयमा ढुंगामुडामा उत्रियो। उनीहरुले कान्तिपुर टिभी र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगा प्रहार गरे।

बागमती करिडोरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालय पनि उनीहरुको निसानामा परेको छ। प्रदर्शनकारीले एकीकृत समाजवादीको कार्यालयका सामान बाहिर निकालेर घरमै आगजनी गरे। यो निजी घर हो।

यस्तै अर्को समूहले कोटेश्वरमा प्रहरी कार्यालयमा आगो लगायो। कोटेश्वर पेरिसडाँडामा रहेको माओवादी केन्द्रको कार्यालयमा पनि प्रदर्शनकारीले आगो लगाउने प्रयास गरेका छन्।

यस्तै बाटोमा भेटिएका गाडी जलाएका प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड गरेका छन्। व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वानेश्वरदेखि तीनकुने, शंखमुल, बालकुमारी पुल, जडिबुटी, गौशाला, एयरपोर्ट, सिनामंगल र पुरानो वानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको छ।

आफ्नो पक्षमा शक्ति देखाउन समर्थकहरुलाई सडकमा उतारेका ज्ञानेन्द्र शाह निजी सम्पतिमा आगजनीपछि चौतर्फीरुपमा आलोचित बनेका छन्।

डेढ दशकअघि अन्त्य भएको राजसंस्था फर्काउन उनले विवादित व्यवसायी दुर्गा प्रसाइँलाई आन्दोलनको कमाण्डर बनाएका थिए। स्थिति तनावपूर्ण भएपछि प्रसाइँ भने भागेका थिए। प्रसाइँ तिनै व्यक्ति हुन् जो यसअघि विभिन्न मुद्दामा धरौटीमा छुटेका थिए।

लोकतन्त्रमा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी गर्न नपाइने होइन, पाइन्छ। तर, प्रदर्शन शान्तिपूर्ण हुनुपर्छ। पोखराबाट फागुन २५ गते काठमाडौं फर्किंदा त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको स्वागतबाट ज्ञानेन्द्र उत्साही भएका थिए।त्यसदिन उनको स्वागतमा देखिएको भिडलाई कतिपयले राजनीतिक दलहरुप्रति जनताको आक्रोशका रुपमा पनि अर्थ्याएका थिए।

ज्ञानेन्द्रले दलप्रतिको आक्रोशको फाइदा लिने प्रयासस्वरुप ८६ वर्षिय पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा एउटा समिति बनाउन लगाए। त्यसमा विवादित व्यवसायी प्रसाइँ पनि जोडिए। ज्ञानेन्द्रले सुवेदी र प्रसाइँलाई बिहीबार निर्मल निवासमा बोलाएर शुक्रबारको प्रदर्शनको तयारीबारे छलफल गरे।

तर, शुक्रबारको अराजकता प्रसाइँका लागि भन्दा पनि ज्ञानेन्द्रलाई नै भारी पर्ने देखिएको छ। किनभने उनको समर्थनमा उत्रिएका भनिएकाहरुले निजी सम्पत्तिमा तोडफोड र आगजनी मात्र गरेनन्, लुटपाटसमेत मच्चाए। लुटपाट र निजी सम्पत्तिमा आगजनी जस्तो अराजकताको सहाराले ज्ञानेन्द्र आफैं निर्मल निवासबाट बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका छन्।

त्यसो त प्रहरीको पनि कमजोरी देखिएको छ। पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन नगरिएका कारण प्रदर्शनकारीले अराजक गतिविधिको मौका पाएका हुन्।

चाहे तीनकुने होस्, चाहे एकीकृत समाजवादीको कार्यालय, प्रहरी आगजनीपछि मात्र पुगेको थियो। फितलो सुरक्षाका कारण सानो संख्यामा रहेका प्रदर्शनकारी निर्धक्क भएर तोडफोडमा उत्रिएका थिए। भाटभटेनी सुपरमार्केटमा प्रदर्शनकारीले लुटपाट गर्नु पनि फितलो सुरक्षाकै परिणाम हो।

अर्को कुरा आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरुले ज्ञानेन्द्रको जयजयकार गरिरहेका थिएनन्, प्रधानमन्त्री केपी ओलीविरुद्ध अश्लील शब्दसहित नारा लगाएका थिए। आफूप्रति जनतामा आक्रोश व्याप्त रहेको कुरा सरकारले पनि बेलैमा बुझेर आफूलाई सुधार गर्नुपर्ने देखिन्छ।