निक्षेप ५.७९ खर्ब थपिंदा बैंकहरुले ब्याज खर्च भने ६६ अर्ब घटाए, यस्तो छ तथ्यांक

बिजमाण्डू
२०८१ चैत्र १३ गते १७:०१ | Mar 26, 2025
निक्षेप ५.७९ खर्ब थपिंदा बैंकहरुले ब्याज खर्च भने ६६ अर्ब घटाए, यस्तो छ तथ्यांक

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरु पौने ६ खर्ब तरलता थपिंदा ब्याज खर्च ६६ अर्ब रुपैयाँ घटाउन सफल भएका छन्। पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरु ५ खर्ब ७९ अर्ब रुपैयाँ तरलता थपिंदा ब्याज खर्च भने घटाउन सफल भएका हुन्।

Tata
GBIME

बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाएर ६६ अर्ब रुपैयाँ जोगाएका हुन्। बैंकहरूले ग्राहकलाई दिने औसत ब्याजदर पछिल्लो एक वर्षमा २.३९ प्रतिशत घटेर ४.६२ प्रतिशतमा सीमित भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० माघमा बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप थियो । बैंकहरूले यसको ब्याजमा २ खर्ब ७७ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

२०८१ माघ मसान्तमा आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ५ खर्ब ७९ अर्ब रुपैयाँले बढेर ६७ खर्ब ३१ अर्ब पुगेको छ । तैपनि, बैंकहरूको निक्षेपको लागत ६६ अर्बले घटेर २ खर्ब ११ अर्बमा सीमित भएको छ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र रेग्मी पछिल्लो समय मुद्ती निक्षेप साधारण बचतमा सिफ्ट हुँदा लागत घटेको बताउँछन्।

‘पछिल्लो एक वर्षमा थपिएको निक्षेपमध्ये साधारण बचत बढेको छ,’ उनले भने, ‘मुद्दती निक्षेपको हिस्सा केही घटेको छ। बचतको तुलनामा मुद्दतीको ब्याजदर बढी हुन्छ। बढी ब्याज खर्च हुने मुद्दतीको हिस्सा घटेसँगै बैंकहरुको ब्याज लागत कम भएको हो।’

बैंकहरुले पछिल्लो डेढ वर्षयता निक्षेपको ब्याजदर लगातार घटाउँदै आएका छन्। गत माघमा बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती खातामा औसत ९.४५ प्रतिशत ब्याजदर दिएकामा अहिले ६.३२ प्रतिशतमा झारेका छन् । त्यस्तै, बचतमा यसअघि औसत ४.६१ प्रतिशत ब्याज दिइरहेका बैंकले अहिले ३.३६ प्रतिशतमा सीमित पारेका छन् ।

कर्जाको माग सुस्त भएपछि लागत कम गर्न बैंकहरुले ब्याजदर घटाउँदै आएका हुन्।

पछिल्लो एक वर्षमा साधारण बचत ५ खर्ब ७७ अर्ब बढेको छ भने मुद्दती निक्षेप १ खर्ब १ अर्बले खुम्चिएको छ। त्यसैगरी, कल खाताको रकम ८३ अर्बले घटेको छ। साथै, चल्ती खाताको निक्षेप समेत ८३ अर्ब रुपैयाँले खुम्चिएको छ। चल्ती खातामा ग्राहकले ब्याज पाउँदैनन्।