काठमाडौं। अनन्या फिल्मस् प्रालिद्वारा निर्माणाधीन मल्टिस्टारर नेपाली फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ। हिमालपारीको जिल्ला मुस्ताङमा सोमबार फिल्मको छायांकन सम्पन्न गरेर कलाकार सहितको निर्माण टिम काठमाडौं फर्किएको हो।
यो फिल्ममा अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’ लगायतको प्रमुख भूमिका छ। ‘फिल्ममा हुने दुई गीत बाहेकका सबै सुटिङ सकेर फर्केका छौं,’ निर्माता सरोज न्यौपानेले भने, ‘उत्कृष्ट फिल्म तयार हुनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन।’ यसले गर्दा पूर्वानुमानका तुलनामा बजेट बढेको उनले बताए।
सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्म खिचिएको उनले बताए। फिल्मका केही दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको निर्माण पक्षको दाबी छ।
भुवन केसी, सुरक्षा पन्त र उषा खड्गी पनि यो फिल्ममा देखिने छन्। अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बाबुकै भूमिका खेलेका छन्।
कलाकारको लाइनअपदेखि छायांकनसम्म पुग्दा फिल्मको बजेट झण्डै ६ करोड पुगेको निर्माता न्यौपानेले बताए। फिल्ममा समावेश हुने एउटा गीत नेपालमा र अर्को एक गीत भारतका छायांकन गरिने निर्माण टिमले जनाएको छ।










