काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
मंगलबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित २७ औं सांस्कृतिक प्रतिरोध दिवसमा प्रचण्डले ज्ञानेन्द्रकै कारण नेपालमा गणतन्त्र चाँडै आएको बताए।
‘ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत गणतन्त्रलाई साथ दिए,’ प्रचण्डले भने, ‘भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण छ। अहिले राजतन्त्र स्थापनाको कलाविहीन नाटक मञ्चन गरेर नेपाली जनतालाई सचेततापूर्ण आधार तयार पारेका छन्।
उपन्यासदेखि फिल्म राम्रो हुन नायकमात्र राम्रो भएर नहुने उनको भनाइ थियो। ‘ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ। कथा, उपन्यास र फिल्ममा हिरोले मात्र हुँदैन, त्यहाँ भिलेन पनि चाहिन्छ। भिलेन खतरनाक भएर आइदियो भने हिरोले पनि सम्पूर्ण तागतका साथ त्यसलाई परास्त गर्छ,’ प्रचण्डले भने।
प्रचण्डले अहिलेको अवस्थामा संविधान संशोधनभन्दा पनि संविधानको समीक्षा गरेर दलहरु अघि बढ्नुपर्ने बताए।











