
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च गर्ने क्षेत्र सम्बन्धमा नयाँ मार्गदर्शन जारी गरेको छ।
राष्ट्र बैंकले सोमबार (सीएसआर) सम्बन्धी मार्गदर्शन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण र वित्तीय साक्षारताको क्षेत्रमा खर्च गर्न भनेको छ। यसअघि दुई क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था थियो।
बैंक तथा वित्तीय संस्थाहरुले कुल नाफाको न्यूनतम १ प्रतिशत रकम सीएसआर कोषमा जम्मा गरी खर्च गर्नुपर्ने व्यवस्था छ।
प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तिमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्न भनिएको छ।
साथै, वित्तीय संस्थाहरुले दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग हुने क्षेत्रमा समेत खर्च गर्न सक्नेछन्।
बैंक तथा वित्तीय संस्थाहरुले सीएसआरको पैसा एकै भौगोलिक क्षेत्र तथा विषयमा मात्र खर्च गर्न पाउने छैनन्। आफ्नो कार्यक्षेत्र भित्र जीवन रक्षा, सार्वजनिक हित तथा परोपकार कार्यलाई प्राथमिकतामा राखी न्यायोचित ढङ्गले खर्च गर्नेपर्ने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंक तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले सीएसआर कोषमा छुट्टाएको रकम प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्नेछ ।
मार्गदर्शन अनुसार कोषमा जम्मा भएको रकम, सोको खर्च, कार्यक्रमको छनोट, संस्थाले अवलम्बन गरेको निर्णय प्रकृया, कार्यक्रमको प्रभावकारिता सम्बन्धमा वार्षिकरुपमा आन्तरिक लेखापरीक्षण गरी छुटटै प्रतिवेदन सञ्चालक समितिमा पेस गर्नुपर्छ।
खर्चको क्षेत्रगत तथा प्रदेशगत विवरणका साथै सामाजिक क्षेत्रमा परेको प्रभाव समेत विश्लेषण गरी आफ्नो वेबसाइटमार्फत वार्षिक रुपमा सार्वजनिक गर्नुपर्नेछ।