नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण फेरि ठप्प, स्थानीयले मागे खानेपानी सुविधाको ग्यारेन्टी



बिजमाण्डू
२०८१ चैत्र ३ गते १५:११ | Mar 16, 2025
नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण फेरि ठप्प, स्थानीयले मागे खानेपानी सुविधाको ग्यारेन्टी
फाइल तस्वीर

काठमाडौं। स्थानीयबासीको अवरोधले नागढुंगा-नौबिसे सुरुङमार्गको काम फेरि अनिश्चितकालका लागि ठप्प भएको छ। यसअघि रोकिएको काम गत हप्ता मात्रै स्थानीयका माग सम्बोधन गर्ने सहमतिपछि सुरु भएको थियो। खानेपानी सधैं उपलब्ध हुने ग्यारेन्टी दिनुपर्ने माग अघि सारिएपछि काम पुनः ठप्प भएको हो। 

Tata
GBIME
Nepal Life

आफूहरुले अघि सारेको खानेपानी सुविधा सधैंलाई दिनुपर्ने विषयमा अहिलेसम्म कतैबाट पनि सम्बोधन नभएको भन्दै चन्द्रागिरी नगरपालिका-२ का बासिन्दाले आइतबार बिहानदेखि काम रोकेका हुन्। 

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सन्जय पन्थीका अनुसार पुनः काम रोकिएको छ। ‘उनीहरुले खानेपानीको स्रोत र व्यवस्थापन लाइफटाइम हुनुपर्ने, त्यसको जिम्मा लिनुपर्नेगरी आफ्नो माग सम्बोधन नभएको भन्दै काम ठप्प पारेका हुन्,’ उनले भने।

अहिलेसम्म आयोजनाले उनीहरुलाई खानेपानीको व्यवस्थापन गर्दै आएको छ। तर, आयोजना अन्तिम चरणमा रहेकाले त्यसपछि कसले स्थानीयलाई खानेपानीको स्रोत र व्यवस्थापन गर्ने भन्ने टुंगो लागिसकेको छैन। नगरपालिकाले जिम्मा लिने भनिए पनि त्यसबारे सम्झौता भएको छैन। जसले गर्दा स्थानीयले आयोजनाले गर्दा पानीको मुहान सुकेको र आफूहरुलाई आयोजनाले नै सधैंका लागि खानेपानीको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। 

इन्जिनियर पन्थीका अनुसार यो माग कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल गर्न उनीहरुलाई बोलाइएको छ। ‘तर उनीहरु माथिल्लो तहसँग मात्रै कुरा गर्ने भनेर वार्ता गर्न मानिरहेका छैनन्,’ उनले भने।

आयोजनाको अहिले प्राय सबै निर्माण कार्यहरु अन्तिम चरणमा छन्। अवरोध नभए आगामी असारसम्ममा सुरुङमार्गबाट गाडी चलाउन मिल्नेगरि काम भइरहेको थियो। तर, बेलाबेला यसरी हुने अवरोधले गर्दा काममा बाधा पुगेको पन्थी बताउँछन्।