गभर्नर नियुक्तिमा सरकारले बिचौलियाको सिफारिस कुरिरहेको मनिषको दाबी, अर्थमन्त्री जवाफहीन



बिजमाण्डू
२०८१ चैत्र ३ गते १४:४८ | Mar 16, 2025
गभर्नर नियुक्तिमा सरकारले बिचौलियाको सिफारिस कुरिरहेको मनिषको दाबी, अर्थमन्त्री जवाफहीन
मनिष झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल राष्ट्र बैंकको गभर्नर बिचौलियाको चाहनाविपरीत नियुक्त गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।

Tata
GBIME
Nepal Life

उनले प्रतिनिधि सभाको आइतबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा बिचौलियाले दिने नाम बाहिरबाट गभर्नर नियुक्त गरेर देखाउन चुनौती दिएका हुन्।

उनले सरकारमाथि नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणमा बिचौलियाको सिफारिसमा अध्यक्ष नियुक्त गरेको आरोप लगाउँदै अब गभर्नर नियुक्तिमा चलखेल सुरु भइसकेको बताए। उनले सरकारले कुन बिचौलियाले कति रकम दिन्छ भनेर नाम कुरिरहेको दाबी गरे।

‘धितोपत्र बोर्डको नियुक्ति हेरिहाल्यौं हामीले। कुन बिचौलियाको घरबाट नाम आयो भनेर। भर्खरै बीमा प्राधिकरणको नियुक्ति पनि हेरिहाल्यौं। म चुनौती दिन्छु, गभर्नरको नाम पनि खुल्ला प्रतिस्पर्धाबाट आउनेवाला छैन। कुन बिचौलियाले कति पैसा दिन्छ र कसको नाम पठाउँछ भनेर तयारी हुँदैछ। हामीहरुले नाम आकलन गर्न थालिसक्यौं,’ उनले भने।

सांसद झाको यो गम्भीर आरोपमा अर्थमन्त्री विष्णु पौडेलले ठोस जवाफ दिने हिम्मत गरेनन्। ‘तथ्यमा नउभिएको मनोगत आरोपमा सदनको समय खेर फाल्नु हुन्छ जस्तो मलाइ लाग्दैन,’ उनले भने, ‘आरोप लगाउनेलाई आरोप पुष्टी गर्न आग्रह गर्छु। कुनै पनि सांसदले मनोगत आरोप होइन, तथ्यमा उभिएर प्रस्तुत हुनुपर्छ।’