काठमाडौं। सेयर बजारमा ८ महिनामा साढे १४ खर्ब रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ। चालु आर्थिक वर्ष फागुन मसान्तसम्म १४ खर्ब ५५ अर्ब ८६ करोड रुपैयाँ बराबरको ३ अर्ब २५ करोड ९४ लाख कित्ता सेयर कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार पोहोर ८ महिनाको तुलनामा यस वर्ष रकमका आधारमा सेयर कारोबार २५०.१५ प्रतिशतले बढेको हो।
गत वर्ष फागुनसम्म ४ खर्ब १५ अर्ब ७८ करोड रुपैयाँको १ अर्ब २५ करोड ७४ लाख कित्ता सेयर कारोबार भएको थियो। यो वर्ष औसतमा दैनिक ९ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ।
८ महिनामा हाइड्रोपावरको सर्वाधिक कारोबार हुँदा वाणिज्य बैंकलाई फाइनान्स कम्पनीले उछिनेका छन्। हाइड्रोपावरको ४ खर्ब ९३ अर्ब ९७ करोड, फाइनान्स कम्पनीको १ खर्ब ५२ अर्ब र वाणिज्य बैंकको १ खर्ब ४२ अर्ब रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
गत असारमा संसद्का दुई ठूला दल कांग्रेस र एमालको सत्ता समिकरणपछि उच्च अंकले बढेको सेयर बजारमा साउन मसान्तमा एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो।
दुई आर्थिक वर्ष ८ महिनासम्म सेयर कारोबार रकम (रु दश लाखमा)
| उपसमूह | २०८१/८२ | २०८०/८१ |
| अन्य | ८७६६४.०१ | २६२९५.४९ |
| होटल तथा पर्यटन | २७८३८.३२ | १५२२७.६५ |
| हाइड्रोपावर | ४९३५७७.६६ | १२५४९५.५ |
| लाइफ इन्स्योरेन्स | ८१७२१.८ | ४०९२५.४८ |
| कमर्सियल बैंक | १४२७३२.२७ | ४६३६७.७९ |
| ट्रेडिङ | ४९१३.९९ | २६६९.२७ |
| निर्जीवन बीमा कम्पनी | ५९७०२.६ | २६६३६.८२ |
| फाइनान्स | १५२३३२.३६ | १६९५३.४७ |
| इन्भेष्टमेन्ट | १०२८२६.७६ | २५१२५.९३ |
| उत्पादन तथा प्रशोधन | ५८८५१.७७ | ३६५७३.७३ |
| विकास बैंक | ११६४३९.२७ | २१११५.७३ |
| माइक्रो फाइनान्स | १०२५९४.२९ | २०४६६.३ |
| म्युचुअल फण्ड | ३७३८.१५ | १२५४.४५ |
| संस्थापक सेयर | १८६२२.६३ | ९५४८.२१ |
| डिबेन्चर | २३०४.२९ | ११२६.११ |
| कुल कारोबार | १४५५८६०.१७ | ४१५७८१.९३ |











