काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजय ब्यहोर्दै खराब सुरुवात गरेको बाग्मतीले आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै पहिलो जित दर्ता गरेको हो। त्यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २ विकेटले हरायो।
दुई हारपछि वाग्मतीको बाउन्स ब्याक
पहिलो खेलमा एपीएफ र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग हार ब्यहोर्दै खराब सुरुवात गरेको वाग्मतीले आज भने सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराउँदै बाउन्स ब्याक गर्यो।
एक्स्ट्राटेक ओभलमा वाग्मतीले टस जितेर पहिला ब्याटिङ गर्दै वाग्मतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६६ रन बनायो।
वाग्मतीका लागि शुभ कंशाकारले सर्वाधिक ७७ रन बनाउँदा आशुतोष घिरैयाले ५८ रन, इशान पाण्डेले ३६ रन बनाए। त्यस्तै पृथु बास्कोटा र प्रतिश जिसीले समान १५ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले समान २ विकेट लिँदा नारायण जोशी र राहुल भण्डारीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ४७ ओभरमा अलआउट हुँदै २११ रन बनायो। सुदूरपश्चिमका लागि टेक रावतले सर्वाधिक ४५ रन बनाउँदा कप्तान नारायण जोशीले ३९, राहुल भण्डारीले २६, किरण ठगुन्नाले २१ तथा निश्चल क्षेत्री र शेर मल्लले समान १४ रन बनाए।
बलिङतर्फ रिजन ढकाल र सोनु देवकोटाले समान ४ तथा प्रतिश जिसीले १ विकेट लिँदै सुदूरपश्चिमलाई लक्ष्यसम्म पुग्न रोके।
विभागीय डर्बीमा पुलिसको जित
आजै सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस क्लबले एपीएफमाथि २ विकेटको जित निकाल्यो।
देउखुरी क्रिकेट मैदानमा एपीएफले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। ब्याटिङमा खराब प्रदर्शन गरेको एपीएफले २७.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो।
एपीएफका लागि सुन्दीप जोराले सर्वाधिक २६ रन बनाउँदा लोकेश बमले २२ तथा आशिफ शेख र अमर रौटेलाले समान १० रन बनाए।
घातक बलिङ गर्ने क्रममा नेपाल पुलिसका ललित राजवंशीले ६ विकेट लिँदा सागर ढकाल, करण केसी, गुल्सन झा र कुशल भुर्तेलले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पुलिसलाई सामान्य लक्ष्य भेट्टाउन भने हम्मेहम्मे पर्यो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाउँदा गुल्सन झाले अविजित १२, अर्जुन साउदले ११ र राशिद खानले १० रन बनाए।
बलिङमा एपीएफका भुवन कार्कीले सर्वाधिक ३ विकेट लिँदा अभिषेक गौतम र रोहित पौडेलले समान २ तथा कमलसिंह ऐरीले १ विकेट लिए।
अंकतालिकामा को कता?
विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब समान ६ अंक बनाउँदै शीर्ष दुईमा छन्। तेस्रो र चौथो स्थानमा समान ४ अंक बनाएका एपीएफ र लुम्बिनी प्रदेश छन्।
पाँचौँदेखि नवौँ स्थानमासम्म समान २ अंक बनाएका मधेश प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन्। तालिकाको पुछारमा अंकविहीन कोशी प्रदेश छ।











