डण्डीमा कार्टेलिङविरुद्ध निर्माण व्यवसायी महासंघले उठायो आवाज, ओलीलाई लेख्यो यस्तो पत्र



बिजमाण्डू
२०८१ फागुन २८ गते १६:३३ | Mar 12, 2025
डण्डीमा कार्टेलिङविरुद्ध निर्माण व्यवसायी महासंघले उठायो आवाज, ओलीलाई लेख्यो यस्तो पत्र

विराटनगर। स्टील उद्योगले कार्टेलिङ गरेर मूल्य बढाउन थालेपछि निर्माण व्यवसायीले सरकारलाई गुहारेका छन्।

Tata
GBIME
Nepal Life

टीएमटी र ग्याभियन जाली जस्ता स्टील उत्पादनको मूल्य उद्योगीले मिलेमतोमा बढाएपछि निर्माण व्यवसायीले सरकारलाई गुहारेका हुन्।

नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर तत्काल मूल्यवृद्धि फिर्ता गर्न, कार्टेलिङ अन्त्य गर्न र कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरेको छ।

‘सिमेन्टको मूल्यवृद्धि खारेज गर्नुको सट्टा सरकार मूल्यवृद्धिका विषयमा मौन रहेका कारण स्टीलमा पनि अत्यधिक मूल्यवृद्धि गरिएको छ। निर्माण कार्यमा अत्यधिक प्रयोग गरिने टीएमटीको मूल्य एक हप्तामै किलोको भ्याटबाहेक ७६ बाट ९० र ग्याबियन वायरको मूल्य किलोको भ्याटबाहेक १०९ बाट १२२ पुर्‍याइएको छ,’ महासंघका अध्यक्ष रवि सिंहले लेखेको पत्रमा भनिएको छ, ‘मूल्यवृद्धिले निर्माण व्यवसायीहरु थप आर्थिक मारमा परेका छन्। सरकारलाई पनि पूर्वाधार निर्माणमा भार बढेको छ।’

टीएमटीमा मूल्यवृद्धि गर्न उद्योगीले फागुन २० देखि बिक्री बन्द गरेका थिए। उनीहरूले फागुन २५ गते आइतबार किलोमा ४ रुपैयाँ वृद्धि गरेर बिक्री खोलेकामा भाउ फेरि बढाउनका लागि सोमबार दिउँसो ४ बजेदेखि बेच्न रोकिसकेका छन्।

महासंघले निर्माण सामग्रीको मूल्यवृद्धि गर्नेमाथि कारबाही नहुँदा उद्योगीले आफूखुशी भाउ बढाउन प्रोत्साहन पाएको बताएको छ।

‘सिमेन्ट उत्पादकहरूले राज्यका रोहबरमा पटकपटक मूल्यवृद्धि खारेज गर्ने सहमति गरे पनि अझै कार्यान्वयन नगरेबाट कालोबजारी गर्नेको मनोबल अझ बढेको छ। यसबाट आम उपभोक्ताको विश्वासमै गम्भीर कुठाराघात भएको छ’, प्रधानमन्त्रीलाई पठाइएको पत्रमा भनिएको छ ।

संसद्को लेखा समितिले सिमेन्टको भाउ घटाउन निर्देशन दिएपनि कार्यान्वयन नभएको महासंघको भनाइ छ। महासंघले निर्माण व्यवसायीका लागि तत्काल शून्य भन्सारदरमा सिमेन्ट, डन्डी, ग्याभियन वायर लगायत निर्माण सामग्री आयात गर्ने सुविधा उपलब्ध गराउन पत्रमार्फत आग्रह गरेको छ।