बाढीले बगाएको ६ महिनापछि वीपी राजमार्ग निर्माणको ठेक्का आह्वान, ३० दिनमा आवेदन दिनुपर्ने



बिजमाण्डू
२०८१ फागुन २८ गते ०८:३५ | Mar 12, 2025
बाढीले बगाएको ६ महिनापछि वीपी राजमार्ग निर्माणको ठेक्का आह्वान, ३० दिनमा आवेदन दिनुपर्ने

काठमाडौं । बाढीले बगाएको ६ महिनापछि सरकारले वीपी राजमार्ग निर्माणको ठेक्का आह्वान गरेको छ। गत असोजमा आएको बाढीले उक्त सडक लगभग १२ किलोमिटर बगाएको थियो। त्यसपछि स्रोतको खोजीमा सरकारले अहिलेसम्म त्यसको निर्माण अगाडि बढाउन सकेको थिएन।

Tata
GBIME
Nepal Life

बुधबार सडक डिभिजन सिन्धुलीले उक्त क्षति भएको सडकको ठेक्का आह्वान गरेको हो। डिभिजनले अहिले आफ्नो क्षेत्रमा पर्ने नेपालथोकदेखि वर्षे खोलासम्मको लगभग ५ किलोमिटर सडक निर्माण गर्न पहिलो चरणमा ठेक्का आह्वान गरिएको इन्जिनियर सुदर्शन उप्रेतीले बताए।

‘हामीले यो पहिलो चरणको ठेक्का आह्वान गरेका छौं। यसको ३० दिनसम्म आवेदन दिने म्याद हुन्छ। त्यसपछि प्राविधिक र आर्थिक मूल्यांकन गर्ने काम गर्दा साढे दुई महिना जतिमा ठेक्का सम्झौता हुन्छ,’ उनले भने। 

यो खण्डको लागि सरकारले १ अर्ब रुपैयाँ भन्दा माथिको बजेट छुट्याएको छ। यो ठेक्काको काम दुई वर्षमा सम्पन्न गर्नु पर्ने उप्रेतीले बताए।

उप्रेतीका अनुसार अन्य तीनवटा खण्डको ठेक्का पनि यसै हप्ता आह्वान हुनेछ। जसलाई सडक डिभिजन भक्तपुरले हेरिरहेको छ। सरकारले सबै खण्ड निर्माण गर्न साढे ८ अर्ब बजेटको स्रोत सुनिश्चिता गरेको छ।