‘टुटल’ र ‘पठाओ’मा प्रमको चासो, यातायातमन्त्रीलाई निर्देशन- ‘तुरुन्त पहिले जस्तै चल्न दिनु’



बिजमाण्डू
२०७५ माघ ३ गते ०८:०५ | Jan 17, 2019


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएको प्रति चासो व्यक्त गरेका छन्। 

Tata
GBIME
Nepal Life

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रघुवीर महासेठलाई तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रम ओलीले मन्त्री महासेठलाई जनताको जीवनसँग जोडिएको विषयलाई यसरी हचुवाको भरमा निर्णय किन गरेको भनी सोधेका थिए। 

उनले मन्त्री महासेठलाई निर्णय सच्याएर तत्काल पहिले झैँ चल्न दिन पनि निर्देशन दिएका हुन्।यो साता ट्राफिक प्रहरीले हठात् टुटल र पठाओ जस्ता एपमार्फत् बाइक सेयरिङ गर्नेहरुलाई पक्राउ गरेर जरिवाना तिराउँदै आइन्दा यसो नगर्न सचेत गराएको थियो। पछि मिडियामा ट्याक्सी व्यवसायीहरुको दबाबमा यसो गरिएको आरोप लगाइएको थियो। 

ट्राफिक प्रहरीले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै मातहतमा रहेको हेलो सरकारमा परेको उजुरीलाई सुनुवाई गरेको बताएको थियो।बंगलादेशमा मुख्य कार्यालय रहेको पठाओले भर्खरै र केही महिना अघिदेखि नै टुटलले यस्तो सेवा प्रदान गर्दै आएका थिए।  

प्रहरीको कदमको सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको थियो। धेरैले सेवा बन्द गराउने कदमको विरोध गरेका थिए। नेविसंघले बुधबार विज्ञप्ति जारी गर्दै चाँडो भन्दा चाँडो यस्ता उद्यमशीलतका कुरालाई सहजीकरण हुने किसिमका नियम कानुन बनाउन सरकारसँग माग गर्दै समृद्घिको बाटोमा राज्य अगाडि बढ्न खोज्दा सरकारले बाधा गरे सडकमा ओर्लेर आन्दोलन गर्ने चेतावनी समेत दिएको थियो। 

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व उपप्रम कमल थापाले पनि सरकारको त्यस कदमको विरोध गरेका थिए।