गोदावरी फरेस्ट रिसोर्टको निर्माण अन्तिम चरणमा, सोल्टी वेस्टन्डको नाममा सञ्चालन हुने

वसन्तराज उप्रेती
२०८१ फागुन २४ गते १०:३९ | Mar 8, 2025
गोदावरी फरेस्ट रिसोर्टको निर्माण अन्तिम चरणमा, सोल्टी वेस्टन्डको नाममा सञ्चालन हुने

काठमाडौं। ललितपुरको गोदावरीमा होटल सोल्टीको व्यवस्थापनमा सञ्चालनको तयारीमा रहेको फरेस्ट रिसोर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सवा अर्ब रुपैयाँ लागत रहेको गोदावरी फरेस्ट रिसोर्ट निर्माणमा ९० प्रतिशत काम सकिएको हो।

Tata
GBIME

मुख्य पूर्वाधारहरु तयार भइसकेका छन्। सुरुको डिजाइनमा तय गरिएको क्षमता अझ थप गरेर लगानी गरिएको होटलको पूर्वाधार निर्माण सकेर यतिखेर इन्टेरियरको काम धमाधम भइरहेको सञ्चालक मदनलाल जोशीले बताए। ‘इन्टेरियरको काम अन्तिम चरणमा छ। फिनिसिङको चरणमा छौं,’ उनले भने।

निर्माण थालेको ६ वर्षपछि रिसोर्ट तयार हुन लागेको हो। ‘विभिन्न कारण निर्माणमा ढिलाइ भयो। हामी अब अन्तिम चरणमा छौं,’ जोशीले भने, ‘यो बीचमा हामीले सुरुमा योजना गरेभन्दा कोठा थपेका छौं, जसले गर्दा लागत पनि बढ्न पुगेको छ।’

उनका अनुसार सुरुमा ५८ कोठा क्षमताको रिसोर्ट ५० करोड रुपैयाँ लागतमा तयार गर्ने योजना थियो। अहिले सात तलाको रिसोर्ट ८३ कोठा क्षमताको बनाइँदैछ। ‘कोभिड लगायत कारण निर्माण कार्य प्रभावित भएपछि रिसोर्टको कोठा क्षमता बढाउने निर्णय गर्‍यौं,’ उनले भने।

रिसोर्टमा उच्चस्तरको ब्युटीपार्लर, गिफ्ट सप, स्पा, फिटनेस सेन्टर तयार गरिंदैछ। ५० वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ क्षमताको रिसोर्टमा ६० जना क्षमताको रेस्टुरेन्ट, भीआइपी मिटिङ हल, इन्फिनिटिभ स्विमिङ पुल लगायत सुविधा हुने जोशीले जानकारी दिए।

उनका अनुसार रिसोर्ट वैशाखबाट सञ्चालनमा ल्याउने तयारी छ। रिसोर्टको व्यवस्थापन सोल्टी काठमाडौंले सम्हाल्नेछ। रिसोर्ट ‘सोल्टी वेस्टन्ड’को नाममा सञ्चालनमा आउने छ। ‘सोल्टीको प्रवेशसँगै अब कर्मचारी नियुक्तिको काम अगाडि बढ्नेछ,’ जोशीले भने। रिसोर्ट व्यवस्थापनका लागि स्वीस इन्टरनेसनलले पनि प्रस्ताव गरेको थियो।   

गोदावरी वरपरको क्षेत्रमा हाइकिङ, ट्रेकिङका साथै धार्मिक पर्यटन पनि बढ्न थालेकाले आन्तरिकका साथै भारतीय र चिनियाँ पर्यटकलाई लक्षित गरेको उनले बताए।

रिसोर्टमा युरोपेली ‘रेडियन’ प्रविधिको एसी जडान गरिएको छ। जसका कारण होटलका हरेक कोठामा ग्राहकले सिजनअनुसार अनुकूल तापक्रम महसुस गर्न सक्नेछन्।