बक्यौता झेलिरहेको सौर्य एयरलाइन्स फेरि ‘सेल’ मा, डेढ महिना अघिदेखि ग्राउण्डेड जहाज कहिले उड्ला? 



बिजमाण्डू
२०७५ पुष ३० गते १२:५८ | Jan 14, 2019
बक्यौता झेलिरहेको सौर्य एयरलाइन्स फेरि ‘सेल’ मा, डेढ महिना अघिदेखि ग्राउण्डेड जहाज कहिले उड्ला? 

काठमाडौं। पाँच महिनाअघि मात्रै खरिद गरेको सौर्य एयरलाइन्सको ब्यवस्थापन सम्हाल्न नसकेपछि फेरि बिक्री गरिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउनु पर्ने करिब चार करोड रुपैयाँमध्ये अढाई करोड रुपैयाँ तिर्न नसकेपछि नयाँ समुहले कम्पनी बिक्री गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

'नयाँ व्यवस्थापनले विमानस्थललाई बुझाउनुपर्ने बक्यौता तिर्न नसकेपछि अहिले खरिदकर्ता खोज्दै हिँडेका छन्। कम्पनीले तलब नदिएको पनि महिनौ भइक्यो। नयाँ अध्यक्ष घनश्याम अधिकारी अहिले चिन गएका छन्। आउँदो शुक्रबारसम्म सबै कुरोको टुंगो लाग्नेछ,' स्रोतले भन्यो। 

घनश्याम अधिकारी समूहले गत साउनमा दिपक पोखरेल समुहसँग बिमान खरीद गरेको थियो। कम्पनीले विमानस्थललाई बक्यौता नबुझाउँदा डेढ महिनादेखि जहाज ग्राउण्डेड छ।

उडान बन्द भएको डेढ महिना बितिसक्दा पनि कम्पनीका प्रतिनिधि विमानस्थलको सम्पर्कमा नआएको विमानस्थल स्रोतले बताएको छ। कम्पनीले विमानस्थललाई बुझाउनुपर्ने सेवा शूल्क पनि बुझाएको छैन। कम्पनीले पटक पटक आंशिक बक्यौता बुझाउँदै उडान भर्दै आएको थियो। तर पछिल्लो समयमा विमानस्थललाई सेवा शूल्क बुझाउन ढिलाई गरेपछि उडान रद्ध गरिदिएको हो।

चार वर्षअघि यो कम्पनीले नेपाली हवाई क्षेत्रमा जेट इन्जिनयुक्त दुईवटा ५० सिटे सिआरजे २०० बाट उडान सुरु गरेको थियो। कम्पनीले सुरुसुरुमा राम्रै व्यवसाय गर्दै गएपनि पछिल्लो समय आर्थिक व्ययभार झेल्नुपर्ने कारण अधिकारी समुहलाई गत साउनमा ६७ करोड रुपैयाँमा बिक्री गरेको थियो।

यसअघि दुई वटा ५० सिटे सिआरजे २०० जेट इन्जिन जहाजमध्ये सौर्यले एउटा जहाजले मात्र उडान भर्दै आएको थियो। कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित  निकायमा आधारित फाइल अनुसार नयाँ व्यवस्थापनमा अध्यक्षका रुपमा आएका घनश्याम अधिकारीको नाम कतै समावेश गरिएको छैन। 

हाल नयाँ व्यबस्थापन र पुरानो व्यवस्थापनबीच हिसाब किताब पूर्ण रुपमा मिलान गर्नका लागि अडिटको काम भइरहेको स्रोतले जानकारी दिएको छ। प्राधिकरण स्रोतका अनुसार नयाँ व्यवस्थापन सम्हाल्न आएका घनश्याम अधिकारी पुष ६ गते हवाई सेवा सुरक्षा विभाग पुगेका थिए। 

'सौर्य एयरलाइन्सका नयाँ अध्यक्ष घनश्याम अधिकारी विभागमा आएका थिए। उनले विमानस्थललाई तिर्न बाँकी बक्यौता चुक्ता गरिसकेपछि कम्पनी संचालक र व्यवस्थापन समुहको नामसारी गर्ने योजना रहेको बताएका थिए' स्रोतले भन्यो। 

कम्पनीको स्वामित्व नामसारी गर्नका लागि कम्पनीले चरणबद्ध रुपमा सुरुमा कम्पनी रजिष्ट्रार कार्यालयमा आवेदन दिनुपर्नेछ। रजिष्ट्रारबाट अनुमति पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणबाट नामसारीका इजाजत लिनुपर्नेछ। 

कम्पनी रजिष्ट्रार कार्यालय र मन्त्रालयले नामसारी इजाजत दिएपछि अन्त्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ व्यवस्थापनको आर्थिक, व्यावसायिक योजना र जनशक्ति मूल्याङ्कनका आधारमा नामसारी स्वीकृत हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए।