
काठमाडौं। उचित खानपान, मनग्य पार्किङ स्पेस, लोभ्याउने आतिथ्यले भैरहवा वेडिङ डेस्टिनेसनको हब बन्न थालेको छ। वैवाहिक समारोह भैरहवा आएर गर्ने भारतीयको संख्या बढ्दा रुपन्देहीका होटलहरुको व्यापार गुल्जार हुन थालेको छ।
उच्च वर्गका भारतीयको रोजाइमा भैरहवाका पाँच तारे होटल टाइगर प्यालेस वाई सोल्टी र सिद्धार्थ भिलासा पर्ने गरेको छ। त्यसपछि अरु होटलमा पनि विवाहका कार्यक्रमले राम्रै व्यापार गरिरहेका छन्। अतिथि रिझाउनेगरि होटलहरुले दिइरहेको सेवाले व्यापार बढाएको हो।
सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले टाइगर प्यालेसमा आफ्नो व्यवस्थापन सुरु भएसँगै विवाह समारोहका लागि भारतीय आउन थालेको बताए। ‘हामीले दिल्लीमा रहेको कार्यालयबाट टाइगर प्यालेस बाइ सोल्टीको मार्केटिङ गरिरहेका छौं। थुप्रै इन्क्वाइरी आइरहेको छ। पोजिटीभ भाइभ छ,’ उनले भने,’पहिला भारतीयलाई वेडिङ सेरोमनीका लागि काठमाडौं बाहेक विकल्प थिएन। अब भैरहवा पपुलर भइसकेको अवस्था छ। यहाँ सोल्टी आएपछि थप भाइब्रेन्ट भएको छ।’
सन् २०२५ भरीका लागि भारतीयसँगै नेपालीको बुकिङ धमाधम आइरहेको उनले बताए। जसका कारण वैवाहिक समारोहका लागि क्यालेन्डरअन्तर्गत सीमित दिन मात्र बुकिङ खाली छन्। १०१ कोठा क्षमता भएको होटलमा वेडिङको बुकिङ आउँदा पाहुना बसोबासको अभाव हुँदा सिद्धार्थमा पनि राखिँदै आइएको उनले जानकारी दिए।
भारतीय पर्यटकका लागि मूल्य न्यूनतम १० हजार भारु निर्धारण हुँदै आएको उनले जानकारी दिए। होटलले न्यूनतम ६० लाख भारतीय रुपैयाँ अर्थात झण्डै १ करोड बराबरको वैवाहिक समारोह आयोजना गर्दै आएको उनले बताए।

बुद्ध सर्किटका पर्यटकलक्षित एक वर्ष अगाडि सञ्चालनमा आएको सिद्धार्थ भिलासामा यतिखेर भारतीय वैवाहिक समारोहको माग उल्लेख्य आइरहेको जनाइएको छ। सिद्धार्थ समूहका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानले सन् २०२५ मा ३० वटा भारतीय वैवाहिक समारोह आयोजना गर्न आफू विश्वस्त रहेको बताए।
‘भारतबाट नेपाल प्रवेश गरेर काठमाडौं, पोखरा, चितवन लगायत पर्यटकीय गन्तव्य जाने र वैवाहिक समारोहलाई केन्द्रित गर्दै होटल सञ्चालनमा ल्याएका थियौं। जसमध्ये धेरै माग आएको भनेकै वैवाहिक समारोहको छ,’ उनले भने,’सन् २०२५ का लागि भारतबाट धमाधम वैवाहिक समारोहको बुकिङ आइसकेका छन्।’

होटलको सुन्दरता, दुरी, आतिथ्यताकै कारण भारतको राजस्थान, महाराष्ट्र सँगै विभिन्न सहरबाट वैवाहिक समारोहका लागि आउने भारतीयको माग उल्लेख्य वृद्धि हुँदै गएको उनले जानकारी दिए।
उनका अनुसार वैवाहिक समारोहमा १५० जनासम्मको सहभागिता हुँदै आएको छ। यस्ता समारोहका लागि आउने भारतीयले एक पटक आउँदा अधिकतम २ रात ३ दिन सम्मको प्याकेज लिँदै आएका छन्।
‘यस्तो समारोहमा भारतीयले आफ्नो निकट नातागोतालाई समेट्दै आएका छन् र यस्तो समारोहमार्फत आफन्तबीच थप निकटता र घुलमिल हुने उनीहरुको परम्पराले यहाँको व्यवसायलाई थप टेवा दिएको छ,’ उनले भने, ‘नेपालमा वेडिङको माग पहिला पनि थियो तर हामीले एक वर्षयता सेवा सुरु गर्दा धेरै आकर्षण बढेको पाएका छौं।’

यसरी वैवाहिक समारोहका लागि भारतीयको आगमन वृद्धि हुँदै गर्दा होटल व्यापारमा टेवा मात्र नभइ मुलुककै राजस्वमा वृद्धि हुँदै आएको उनले बताए।
सन् २०२४ मा १३ वटा वैवाहिक समारोह आयोजना गरेको होटलले सन् २०२५ मा करिब ३० वटा वैवाहिक समारोह आयोजना गर्ने प्रक्षेपण गरेको छ। एउटा इभेन्ट न्यूनम ३५ लाख रुपैयाँदेखि अधिकतम ७५ लाख रुपैयाँसम्मको हुँदै आएको उनले जानकारी दिए।
उनका अनुसार बेड, ब्रेकफास्ट, डिनर सेवाको मेनुअनुसार होलटलाई प्रति व्यक्ति न्यूनतम १२ देखि अधिकतम १८ हजार रुपैयाँसम्म आम्दानी हुँदै आएको छ।
सरकारले सीमा क्षेत्रका पर्यटकीय गन्तव्यलाई वैवाहिक गन्तव्यका रुपमा प्रवर्धन गर्ने नीति अगाडि बढाइरहँदा यी दुई होटलमा यतिखेर वैवाहिक समारोहका लागि अत्यधिक माग आइरहेको हो।