
काठमाडौं। एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल’ बिहिबार पोखरामा सुरु भएको छ। बुकवर्म फाउन्डेसनको आयोजनामा सुरु भएको फेस्टिभल सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे।
उनले परिवर्तनका लागि साहित्य एकदमै सशक्त हतियार भएको भन्दै लिटरेचर फेस्टिभल इनोभेटिभ र क्रियटिभ भएको बताए।
नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले फेस्टिभलले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उद्घाटन समारोहमा ६ वर्षिया भूमिलक्ष्मी पराजुलीको चित्रकथा पुस्तक ‘मर्मेड ह्वेल प्रिन्सेस’ विमोचन गरियो।

उद्घाटनअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत्प्रवचन दिएका थिए। फेस्टिभलमा विभिन्न सत्रमा छलफल भएको छ।
सञ्चारमन्त्री गुरुङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रित रहेर संवाद गरे भने अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइरालासँग लेखक एवम् पत्रकार विजय कुमारले कुरा गरे।

५० भन्दा बढी सत्रमा छलफल हुने फेस्टिभल १८ गतेसम्म चल्नेछ।