एनएसीका दुईवटै न्यारोबडी जहाज ग्राउण्डेड, दुबई उडान स्थगित, अरु गन्तव्यमा वाइडबडीको भर

बिजमाण्डू
२०८१ फागुन १२ गते १२:०१ | Feb 24, 2025
एनएसीका दुईवटै न्यारोबडी जहाज ग्राउण्डेड, दुबई उडान स्थगित, अरु गन्तव्यमा वाइडबडीको भर


काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का दुईवटै न्यारोबडी जहाज ग्राउण्डेड हुँदा त्यसको असर उडानमा परेको छ।

Tata
GBIME
NLIC

दुईवटै न्यारोबडी जहाज ग्राउण्डेड हुँदा आइतबार राति काठमाडौं-दुबई उडान स्थगित गर्नुपरेको छ।

सि-चेकका लागि चीन पठाइएको न्यारोबडी जहाज नआइपुग्दा र शनिबार राति काठमाडौं-दमाम अवतरण भइ प्राविधिक समस्या आएको जहाज उतै ग्राउण्डेड हुँदा त्यसको असर उडानमा परेको हो।

‘सि-चेक गर्न चीन पठाइएको ९ एन-एकेडब्लू कलसाइनको जहाज फागुन ७ गते रिलिज गर्ने भनिएको थियो। सि-चेकको काम सकिएपनि जहाज अहिलेसम्म आएको छैन,’ एनएसीका एक कर्मचारीले भने, ‘अर्को जहाज २ दिनदेखि दमाममा ग्राउण्डेड छ। त्यसैले दुबईको उडान स्थगित गर्नुपरेको हो। अन्य गन्तव्यको टिकट लिएका यात्रुलाई भने वाइडबडी जहाजमा पठाइएको छ।’

क्वालालम्पुर, बैंकक, हङकङ लगायत गन्तव्यमा जानका लागि टिकट काटेका यात्रुलाई एनएसीले वाइडबडी जहाजमार्फत सेवा दिएको छ। एनएसीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा एयरबस-३२० र दुईवटा एयरबस-३३० गरी कुल ४ वटा जहाज छन्।

९ एन-एकेडब्लू कलसाइनको जहाज सि-चेक गरेबापतको रकम भुक्तानी नदिइएका कारण चीनमा अड्किएको एनएसी स्रोतले बतायो। जहाज लिन गएका चालक दलका सदस्य पनि चीनमै छन्। चाइना साउदर्नले सि-चेक गरेको रकम पूरै भुक्तानी गरेपछि जहाज रिलिज गर्ने पत्र पठाएको छ।

९ एन-एकेएक्स कलसाइनको जहाजमा नोज ल्याण्डिङ गियरमा हाइड्रोलिक लिकेज भएपछि ग्राउण्डेड गरिएको हो। ‘त्यो जहाज अहिले साउदी अरेबियाकै एमआरओले कोटेसन लिएर मर्मतको काम सुरु गरिसकेको छ,’ ती कर्मचारीले भने।