भैरहवाका मध्यम होटललाई महाकुम्भ मेलाले बहार, ठूला होटलले पाएनन् ग्राहक

वसन्तराज उप्रेती
२०८१ फागुन ११ गते १९:५८ | Feb 23, 2025
भैरहवाका मध्यम होटललाई महाकुम्भ मेलाले बहार, ठूला होटलले पाएनन् ग्राहक


काठमाडौं। भैरहवाका मिड रेन्जका होटललाई भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेला बहार बनेको छ। मेलाले भैरहवाका मध्य खालका होटल भरिभराउ हुन पुगेका छन्।

Tata
GBIME
NLIC

होटल पवन प्यालेसका सञ्चालक पवन हलवाइले प्रयागराज जाने र त्यताबाट फर्किनेहरुका कारण अहिले मिड रेन्जका होटलले उत्साहजनक व्यापार गरिरहेको बताए।

‘हिजो राति म आफैं गेस्टलाई रिसिभ गर्न बोर्डरमा पुगेको थिएँ। धेरै भिड थियो। कुम्भमेलाले गर्दा मिड रेन्जका होटल गुल्जार बनेका छन्,’ उनले भने, ‘अहिले मेरो मात्र होइन अधिकांश होटलको व्यापार राम्रो भइरहेको छ।’

हलवाइको होटलमा अहिले अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ।

भैरहवाका होटलमा खासगरी भारतीय पर्यटक आउने गरेका छन्। अहिले भारतीय पर्यटकको संख्या नगन्य जस्तै छ। सामान्यतया माघ फागुन भैरहवाका होटलको अकुपेन्सी २०-२५ प्रतिशतभन्दा धेरै हुने समय होइन।

नान्स होटल एवं सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले भारतीय पर्यटकको संख्या न्यून रहेपनि कुम्भमेलामा जाने नेपालीले गर्दा व्यापार बढेको बताए।

‘भैरहवा भारतीय पर्यटक धेरै आउने गन्तव्य हो। तर अहिले भारतीयको संख्या निक्कै कम छ। प्रयागराजमा लागेको मेलाले होटलमा अहिले नेपालीहरु बढेका छन्,’ उनले भने।

कुम्भमेलामा जाने अधिकांश नेपालीले भैरहवा नाका प्रयोग गरिरहेका छन्। उनीहरुमध्ये कतिपय जाँदा र फर्कँदा भैरहवामा बसेका कारण राम्रो व्यापार भएको व्यवसायीहरुको भनाइ छ।

सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले पनि महाकुम्भ मेलाले मिड रेन्जका होटललाई भ्उयाइ नभ्याइको अवस्था रहेको बताए।

‘प्रयागराजमा जान नेपालीहरुको लर्को लाग्दा त्यसको फाइदा यहाँका मिड रेन्जका होटलले उठाएका छन्। तर भारतीय पर्यटकको संख्या भने छैन भने पनि हुन्छ,’ उनले भने।

भैरहवामा सिद्धार्थ होटल संघअन्तर्गत साना ठूला गरी ६६ वटा होटल सञ्चालनमा छन्। तीमध्ये २ वटा पाँच तारे, ६ वटा चार तारे र एउटा थ्री स्टार हुन्। ठूला लक्जरी होटलको व्यापारमा भने मेलाले खासै प्रभाव नपरेको व्यवसायीले बताएका छन्।

 पुस २९ गते सुरु भएको महाकुम्भ मेला फागुन १४ गते सकिंदैछ।