
काठमाडौं। एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल’ फागुन १५ देखि १८ सम्म पोखरामा हुने भएको छ। बुकवर्म फाउन्डेसनले एनसेल फाउन्डेसनलाई प्रमुख प्रस्तुत कर्ता राखेर लिटरेचर फेस्टिभलको १२औं संस्करण गर्न लागेको हो।
फेस्टिभलमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंक उप–प्रवर्धक रहने आयोजकले शुक्रबार पत्रकार सम्मेमलनमार्फत जानकारी दिएको छ।
आयोजकका अनुसार देश–विदेशका २०० भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार लगायतको उपस्थिति रहने फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र चलाइनेछ।
प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचनसँगै सुरु हुने फेस्टिभलमा उद्यमी जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ र ६ वर्षकी भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक लोकार्पण गरिनेछ।
एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यका माध्यमबाट सबैलाई जोड्न फेस्टिभलमा जोडिन पाएकामा खुसी व्यक्त गरिन्। ‘कला, साहित्य र संस्कृति हाम्रा पहिचान हुन्। यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो। नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो। एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं,’ उनले भनिन्।