काठमाडौं। शेयर बजारप्रति अनुत्तरदायी भएको भन्दै लगानीकर्ताको दवाव समुहले अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष लक्ष्मण न्यौपाने र बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईको राजिनामा माग गर्दै आमरण अनसन बसेका छन्।
दावाव समुहको तर्फबाट तिलक कोइराला र हरि ढकाल बजार सुधारका लागि सम्बन्धित पदाधिकारीहरुले राजिनामा दिनु पर्ने भन्दै आमरण अनसन बसेका हुन्। शेयर बजारको अहिलेको अवस्था आउनुमा उनीहरु नै सबैभन्दा धेरै दोसी भएकोले राजिनामा दिनु पर्ने अनसन बसिरहेका तिलक कोइरालले बताए।
बजार सुधारका नाममा विभिन्न समिति बनाउने र लगानीकर्तालाई गुमराहमा राख्ने काम भएको आन्दोलनकारीको बुझाइ छ। विगतमा पनि बजार सुधार गर्ने नाममा विभिन्न समिति बनाएर छलफल गरिएको तर छलफल औचित्यहिन भएको उनीहरुको आरोप छ। 'माग राखिएको यतिका दिन भैसक्यो। छलफल गर्न नै एक हप्ता लगाइयो। त्यसपछि प्रतिवेदन बनाउन एक हप्ता लाग्ला र त्यसको कार्यान्वयन कहिले हो कहिले' उनले प्रश्न उठाए।
अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पूँजी बजारको समस्या पहिचान गरी सुधारका लागि सुझाब दिन समिति बनाएका छन्। उनले अघिल्लो बिहीबार समिति बनाए पनि काम भने गत सोमबारबाट सुरु भएको थियो। कार्यदलले संभवत आज साँझसम्म अर्थमन्त्रीलाई समस्या समाधानको उपायसहित प्रतिबेदन बुझाउँदैछ।
कार्यदलमा आन्दोलनकारीहरुलाई पनि बोलाइएको थियो। उनीहरुले पनि आफ्नो मागहरु प्रस्तुत गरेका थिए। शनिवार प्रतिबेदनलाई एकिकृत गर्न बसेको बैठकले उनीहरुलाई नबोलाएको आरोप आन्दोलनकारीको छ।
सुरुवातबाट अर्थमन्त्रीको राजिनामा माग गरे पनि कार्यदलमा राखेपछि राजिनामा माग्न छाडेका थिए। राजिनामा नमागे पनि आन्दोलन जारी राख्ने उनीहरुले बताएका थिए। सोमबार फेरि उनीहरुले राजिनामाको मुद्दा उठाएका हुन्।
शेयर बजारलाई अनुत्पादक भन्ने अर्थमन्त्रीले बजार सुधारको लागि केहि पनि गर्न नसक्ने दवाव समुहको आरोप छ। धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल राष्ट्र बैंकमा पटक पटक बजार सुधारका लागि मागपत्र पेश गर्दा पनि बेवास्ता गर्ने पदाधीकारीहरुले काम गर्न नसकेको हुँदा पदमा बस्न उपयुक्त नभएको उनीहरुको आरोप छ।
पछिल्लो समय लगानीकर्ताको दवाव समुह १४ बुँदे माग राख्दै आन्दोलनमा छन्। उनीहरुले अघिल्लो आइतबारदेखि रिले अनसन गरिरहेका थिए। त्यसबेलै उनीहरुले आमरण अनसन बस्ने चेतावनी दिएका थिए।
दवाव समुहले सुरुमा अर्थमन्त्रीको राजिनामा माग गरेपनि अहिले माग बढाएर गभर्नर, बोर्ड अध्यक्ष, नेप्से अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत तथा बीमा समितिका अध्यक्षको राजिनामामा पुगेका हुन्।
सरकारी कार्यदलका अधिकारीहरुले भने कार्यदलमा बोलाएर छलफल हुँदै गर्दा आमरण अनशन बस्तु गलत भएको प्रतिकृया दिएका छन्। 'बजारमा अस्वस्थ कृयाकलाप हावी भएको देखिन्छ' ती सदस्यले भने, 'अर्थमन्त्रालय वा राष्ट्र बैंकले लगानीकर्ताको गोजिमा पैसा हालिदिने होइन, प्रणालीका समस्याहरुलाई हल गर्ने मात्र हो।'
आन्दोलनकारीको एक झुण्डले समग्र लगानीकर्तालाई बन्धक बनाउन खोजेको आरोप ती सदस्यले लगाए। उनका अनुसार, सरकारले कार्यतालिका बनाएर सबै समस्या हल गर्ने बताउँदा बताउँदै पनि लगानीकर्ताले हुलदुङ्गा गर्नु गलत हो।
ब्याज दर बृद्धि र तरलता अभावले शेयर बजार बढ्नेभन्दा घट्ने विश्लेषण लगानीकर्ताहरुले गरिरहेका छन्। यस्तो अवस्थामा हुलदुङ्गा गरेर थप घट्न नदिने प्रपञ्चमा केही लगानीकर्ता लागेको ती अधिकारीले बताए। 'बजार बढ्ने र घट्ने स्वभाविक प्रकृया हो' ती अधिकारीले भने, 'हुलदुङ्गा गरेर बजार घट्नबाट रोक्न खोजिएको हो। फरक आँखाबाट हेर्ने हो भने अहिले पैसा हुनेका लागि किनेर भोलीका दिनमा कमाउने अवशर पनि त हो नि।'










