काठमाडौं। नेपालको सिमेन्ट उद्योगमा साढे १४ अर्ब लगानी गर्ने प्रतिवद्धता जनाएको हुवासिन सिमेन्टले नेपाली साझेदारमा उद्योगी सुरज वैद्यलार्इ छानेको छ।
६० करोड रुपैयाँमा खानी किनेको हुवासिनले गाडीको व्यापार र कृषि क्षेत्रमा लगानी गर्दै आएको वैद्य अर्गनाइजेशनलार्इ छानेको हो। वैद्य अर्गनाइजेशन टोयोटा गाडीको नेपालको अधिकृत बिक्रेता हो भने यही समूहको इलाममा चियावगान र चितवनमा पोल्ट्री उद्योगमा लगानी छ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले हुवासिन सिमेन्टको नेपाली साझेदार वैद्यज समूह रहेको बताए।
’लगानी बोर्डसँगको प्रारम्भिक सम्झौंतामा सुरज वैद्यनै नेपाली साझेदारको रुपमा रहेका थिए। तर उहाँको लगानी कति हो खुलेको छैन’ अधिकारीले बिजमाण्डूसँग भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको केही महिनाअघि भएको चीन भ्रमणका बेलामा बोर्ड र हुवासिनबीच सम्झौंता भएको थियो। सम्झौंतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका थिए।
यो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्ने उल्लेख छ। धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ।
ओली प्रधानमन्त्री भएकै बेला लगानी बोर्डमार्फत २०७२ मंसिर २६ गते ह्वासिनले नेपालमा १४ अर्ब ४० करोड रुपैयाँ सिमेन्ट उद्योग खोल्ने प्रस्ताव स्वीकृत भएको थियो।
लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने प्रावधान छ। धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका र मकवानपुरको राक्सी राङ्क गाउँपालिकामा पर्ने उक्त चुनखानी क्षेत्रमा चार वर्षभित्र अध्ययन सकेर उत्खनन् कार्य सुरु गर्ने लक्ष्य राखिएको छ।
ह्वासिनले अहिले ३० भन्दा बढी देशमा खनिज उद्योगमा काम गरिरहेको छ। आफैले उत्खनन गरेको चुनढुङ्गाबाट दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने ह्वासिनको योजना छ।
सुरुमा नेपाली साझेदार सहित लगानी ल्याउने योजनामा सहित ह्वासिन नारायणी नाम राखेको पनि थियो। केही पछि कम्पनीले अहिले नाम परिवर्तन गरेर ह्वासिन सिमेन्ट मात्रै राखेको थियो।










