
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना प्रविधि क्षेत्रमा केही गर्नै नसकेको बताएका छन्। सञ्चार मन्त्रालयमा आफू आएको ६ महिना बितेको भन्दै मन्त्री गुरुङले आइटी क्षेत्रमा त्यसअघि निजी क्षेत्रले जति गरेको छ त्यसैमा सीमित भएको भन्दै त्यसबाहेक सरकारले केही पनि नगरेको टिप्पणी गरेका छन्।
क्यान इन्फोटेकको ३०औं संस्करणको उद्घाटनमा बोल्दै मन्त्री गुरुङले अहिलेसम्म पनि आर्टिफिसियल इन्टेलिजेन्सको नीतिदेखि आवश्यक नियमावलीसमेत नबनेको भन्दै डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा कुनै तदारुकता नदेखिएको उनले बताए।
‘नेपालको आफ्नै सेटलाइट हुनुपर्छ भन्छौं। तर, त्यसको पनि कुनै काम सुरु भएको छैन। नीति कार्यक्रममा लामो लामो कथा राखेकै छौं, तर बजेट छैन। हामीले गर्नपर्ने काम धेरै नगरेको अवस्था छ। थोरै गर्न खोजे खोजे जस्तो तर जाँगर नचलाएको जस्तो, गति नलिएको जस्तो देखिन्छ,’ मन्त्री गुरुङले भने।
उनले यी सबै समस्याहरुको समाधानका लागि निजी क्षेत्रसँग मिलेर पहिला नीति निर्माणमा ध्यान दिने बताए। नीति नियम बनेपछि त्यसको कार्यान्वयनका लागि पूर्वाधार आवश्यक पर्ने उनको भनाइ छ। पूर्वाधारकै रुपमा सरकारले यो वर्ष एउटा मात्रै भएपनि आइटी पार्क खोल्ने तयारी गरिरहेको उनले बताए।
‘आजसम्म हामीसँग एउटा आइटी पार्क छैन। एआईको रिसर्च सेन्टर भन्नु त्यो पनि छैन। केही छ? छैन। यो वर्ष एउटा आइटी पार्क बनाउँ त्यसपछि सातवटै प्रदेशमा बनाउँदै लैजाउँ। काठमाडौंबाट सुरु गरौं। एउटै छातामुनि कम्सेकम १०-१५ हजार विद्यार्थीदेखि अरुले आइटीसम्बन्धी काम गर्ने वातावरण बनाउँ,’ मन्त्री गुरुङले भने।