वीरगंज नाका हुँदै भटमास र सूर्यमुखीको प्रशोधन गरिएको तेल निर्यातमा वृद्धि



बिजमाण्डू
२०८१ माघ २३ गते ०६:४२ | Feb 5, 2025
वीरगंज नाका हुँदै भटमास र सूर्यमुखीको प्रशोधन गरिएको तेल निर्यातमा वृद्धि

वीरगंज। वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशमा निर्यात बढेको छ।

Tata
GBIME
Nepal Life

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ अर्ब ९९ करोड १८ लाख रुपैयाँको ५ करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ।

गत आवको ६ महिनाको अवधिमा भने ३ करोड ११ लाख रुपैयाँको १ लाख १ हजार ३ सय १ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो। छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको उनले जानकारी दिए।

‘अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको छ,’ सूचना अधिकारी तिवारीले भने।

चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ। चालु आवको ६ महिनाको अवधिमा ३ अर्ब २१ करोड ९१ लाख रुपैयाँको २ करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।

गत आवको सोही अवधिमा भने ९ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ। रासस