अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमाथि कर लगाउने निर्णय हाललाई स्थगित गरेका छन्। ट्रम्पले केही दिन अघि क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।
ट्रम्पको सो घोषणापश्चात क्यानडा र मेक्सिकोले पनि जवाफी कर लगाउने बताएका थिए। क्यानडा र मेक्सिकोको निर्यात अमेरिकामुखी छ।
यो कर आजबाट लागू हुने भनिएको थियो। तर ट्रम्पले ३० लिनका लागि कर लगाउने निर्णय रोकेको बताएका छन्।
क्यानडा र मेक्सिकोले आफ्नो देशबाट अमेरिकामा हुने लागू औषध ओसारपसार नियन्त्रणका साथै अवैध आप्रवासी प्रवेशमा कडाइ गर्ने भनेपछि हाललाई ट्रम्प आफ्नी निर्णयबाट पछि हटेका हुन्।
ट्रम्पले क्यानडाले उत्तरी सीमा सुरक्षित गर्ने आश्वासन क्यानडाले दिएको बताएका छन्। ट्रम्पले ३० दिनका लागि कर लगाउने निर्णय ‘पज’ गरेको भन्दै त्यसपछि अवस्था हेरेर निर्णय लिन बताएका छन्।
ट्रम्पले क्यानडाको सीमाबाट अपराधिक गतिविधि बढेको आरोप लगाइरहेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कर लगाउने निर्णय हाललाई रोकिएको भन्दै सीमा सुरक्षाका लागि १ करोड ३० लाख अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका छन्।
कर लागू हुने समय संघारमा पुग्दा ट्रम्प र ट्रुडोबीच टेलिफोन वार्ता भएको थियो। त्यसपछि हाललाई कर लगाउने निर्णय रोकिएको जनाइएको छ।
मेक्सिको र क्यानडामाथि कर लगाउने निर्णय तत्काललाई रोकिए पनि चीनमाथि घोषणा गरिएको करबारे भने केही खुलाइएको छैन। चीनमाथि ट्रम्पले १० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। यो कर आजबाट लागू हुनेछ।
सोमबारसम्म ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कुनै छलफल भएको छैन। अबको २४ घण्टाबीच दुई राष्ट्रपति बीच छलफल हुन सक्ने जनाइएको छ।
चीनले अमेरिकाले घोषणा गरेको कर विरुद्ध विश्व व्यापार संगठनमा उजुरी दिने र समय अनुसार जवाफी निर्णय लिने बताइसकेको छ।











