‘डिपसिक’माथि डेटा चोरीको आरोप, आफूहरूको मोडेलको नक्कल गरिएको ओपनएआईको दाबी

बिजमाण्डू
२०८१ माघ १७ गते ०७:५२ | Jan 30, 2025
‘डिपसिक’माथि डेटा चोरीको आरोप, आफूहरूको मोडेलको नक्कल गरिएको ओपनएआईको दाबी


च्याटजीपीटी निर्माता ओपनएआईले चिनियाँसहितका प्रतिस्पर्धी कम्पनीहरूले आफ्नो कामको प्रयोग गरेर छुट्टै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणहरू विकास गरिरहेका आरोप लगाएको छ

Tata
GBIME
NLIC

ओपनएआई तथा अन्य अमेरिकी कम्पनीहरूलाई विश्वभरि एआईको अग्रणी मानिँदै आएको छ। तर यो साता चीनको नयाँ एप ‘डिपसिक’को उदयले उनीहरूको प्रभुत्वलाई चुनौती दिएको छ। डिपसिकले निकै कम लागतमा च्याटजीपीटीले जस्तै प्रदर्शन गर्न सक्ने दाबी गरिएको छ।

ब्लुमबर्गका अनुसार, ओपनएआईमा प्रमुख लगानीकर्ताका रुपमा रहेको माइक्रोसफ्टले ओपनएआईको डेटालाई अनधिकृत रूपमा प्रयोग गरिएको छ कि छैन भन्नेबारे छानबिन गरिरहेको छ।

यस विषयमा ह्वाइट हाउसका नव नियुक्त ‘आई तथा क्रिप्टो सिजर’ डेभिड स्याक्सले समेत चिन्ता व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘डिपसिकले ओपनएआईको मोडेलहरूबाट ज्ञान संकलन गरेको ठोस प्रमाणहरू छन्। आगामी केही महिनामा अग्रणी एआई कम्पनीहरूले यस्ता प्रक्रियालाई रोक्ने कदम चाल्नेछन्, जसले यस्ता नक्कल मोडेलहरूलाई सुस्त बनाउनेछ।’

अमेरिकाले पहिले नै चीनलाई उन्नत चिप्सहरू उपलब्ध हुन नदिन तथा लगानीलाई स्वदेशमै केन्द्रित गर्नका लागि कडा नियमहरू लागू गरिसकेको छ। बिहीबार अमेरिकी वाणिज्यमन्त्रीका लागि डोनाल्ड ट्रम्पले मनोनयन गरेका होवार्ड लुटनिकले सुनुवाइका क्रममा थप कडाइको संकेत गरेका छन्।

उनले भने, ‘हाम्रो निर्यात नियन्त्रणहरू पर्याप्त छैनन्, थप कदम चाल्न आवश्यक छ।’

ओपनएआईले एक विज्ञप्ति जारी गर्दै चिनियाँ तथा अन्य कम्पनीहरू अमेरिकी एआई मोडेलहरूलाई नक्कल गर्ने प्रयासमा रहेको जनाएको छ। कम्पनीले अमेरिकी सरकारसँग मिलेर यसलाई सुरक्षित बनाउन पहल आवश्यक रहेको पनि बताएको छ।

स्विजरल्याण्डको सेन्ट गालेन विश्वविद्यालयकी प्राध्यापक नाओमी हेफनरका अनुसार, डिपसिकको कम लागतमा एआई मोडेल विकास गर्ने दाबी विवादास्पद छ।

‘डिपसिकले आफ्ना मोडेलहरू सुरुबाटै विकास गरेको भन्ने अस्पष्ट छ,’ उनले भनिन्, ‘यदि ओपनएआईको ठूलो मात्रामा डेटा चोरी भएको हो भने डिपसिकको दाबी भ्रामक हुन सक्छ।’

एआई भेन्चर पार्टनर क्रिस्टल भान ऊस्टेरोमले डिपसिकले अमेरिकी तथा युरोपेली अनुसन्धानहरूमा आधारित रहेर आफ्नो मोडेल निर्माण गरेको दाबी गरेका छन्। तर अन्य कम्पनीको कामलाई आधार बनाएर नयाँ मोडेल विकास गर्नु कत्तिको समस्याजनक हो भन्ने विषयमा अझै बहस बाँकी छ। अमेरिकी इआई कम्पनीहरूले समेत विगतमा बौद्धिक सम्पत्तिको हक उल्लंघन गरेको आरोप खेपेका थिए।

अमेरिकी अधिकारीहरूले डिपसिकको उदयले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावबारे अध्ययन गरिरहेका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटका अनुसार, राष्ट्रिय सुरक्षा परिषद्ले यस विषयमा अनुसन्धान गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि नै डिपसिक अमेरिकी प्रविधि उद्योगका लागि खतराको संकेत भएको बताएका थिए।

यसैबीच, अमेरिकी नौसेनाले सुरक्षाका कारण देखाउँदै आफ्ना कर्मचारीहरूलाई डिपसिक एप प्रयोग नगर्न चेतावनी दिएको छ। सीएनबीसीका अनुसार, नौसेनाले आफ्ना कर्मचारीहरूलाई इमेल पठाएर डिपसिक एपले संग्रह गर्ने डाटाको सुरक्षासम्बन्धी जोखिमबारे सचेत गराएको छ।