डोनाल्ड ट्रम्पले गरे ‘डिपसिक’को प्रशंसा, किन भने चिनियाँ च्याटबटलाई ‘वेक अप कल’?

बिजमाण्डू
२०८१ माघ १५ गते १०:०१ | Jan 28, 2025
डोनाल्ड ट्रम्पले गरे ‘डिपसिक’को प्रशंसा, किन भने चिनियाँ च्याटबटलाई ‘वेक अप कल’?
Photo : Reuters


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एआई स्टार्टअप डिपसिकको प्रशंसा गरेका छन्। सोमबार ह्वाइट हाउसमा आयोजित रिपब्लिकन रिट्रिटमा ट्रम्पले डिपसिकको उदयलाई ‘सकारात्मक विकास’ को संज्ञा दिएका हुन्।

Tata
GBIME
NLIC

अमेरिकी टेक जायन्टहरुबीच डिपसिकको एक्कासी उदयले तरंग ल्याइरहँदा ट्रम्पले चिनियाँ च्याटबटको प्रशंसा गर्नुलाई रणनीतिक रुपमा हेरिएको छ।

ट्रम्पले डिपसिकको प्रशंसा गर्नु पछिको मुख्य कारण हो यो तयार हुनुको लागत। डिपसिकले आफ्नो एउटा एआई मोडललाई तयार पार्न ५५ लाख अमेरिकी डलर परेको जनाएको छ। यो अमेरिकी कम्पनीहरुले एउटा एआई मोडलमा गरेको लगानी भन्दा निकै कम हो। त्यसैले ट्रम्पले डिपसिकको लगानी मोडललाई लिएर प्रशंसा गरेका हुन्।

ट्रम्पले डिपसिक निकै कम लागतमा निर्माण भएको भन्दै त्यसलाई अमेरिकी टेक कम्पनीहरुले पनि सिक्नुपर्ने तर्फ जोड दिएका छन्।

एक साताअघिमात्रै लन्च भएको डिपसिकभन्दा अमेरिकी टेक कम्पनीका च्याटबटहरुको लागत निकै महंगो रहेको छ। त्यसैतर्फ इंगित गर्दै ट्रम्पले डिपसिकलाई ‘वेक अप कल’ को संज्ञा पनि दिए।

सोमबार डिपसिकले ल्याएको तरंगका कारण अमेरिकी टेक जायन्ट कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट देखिएको थियो।

‘यो हाम्रो उद्योगहरुका लागि वेक अप कल हो। हामीहरु अब जित्ने उद्देश्यले अघि बढ्नुपर्छ,’ ट्रम्पले भनेका छन्।

अमेरिकामा नि:शुल्क रुपमा उपलब्ध डिपसिकको एप सर्वाधिक डाउनलोड हुने सूचीमा रहेको छ। अहिले विश्वभर यो एपसँगै वेबसाइटमा लगइन गरेर प्रयोग गर्नेहरुको संख्या बढ्दो छ। यसको ल्याङ्ग्वेज मोडल अन्य प्रतिस्पर्धी भन्दा राम्रो रहेको प्रतिक्रिया आइरहेको छ।

अमेरिकी कम्पनीहरुलाई ‘वेक अप कल’ भनेर ट्रम्पले भन्नुको अर्थ यसको आर्थिक मोडल नै हो। सस्तोमा एआई मोडल ‘जेनरेट’ गर्न अमेरिकी कम्पनी पछि परे त्यसको प्रभाव आउने दिनहरुमा राम्रो नहुने ट्रम्पको संकेत थियो। यस्तै, हाल अमेरिकी च्याटबटहरु नि:शुल्कसँगै रकम तिरेर प्रिमियम सेवा लिने खालका पनि छन्। तर, चिनियाँ प्रतिस्पर्धीले त्यो बिजनेस मोडल अपनाउने अवस्था छैन। डिपसिक नि:शुल्क रुपमा नै उपलब्ध भए त्यसको प्रभाव अमेरिकी टेक उद्योगमा पर्ने ट्रम्पको संकेत छ।

राष्ट्रपति भएपछि ट्रम्पले एआई विकासका लागि ६९ खर्ब अमेरिकी डलर लगानीको घोषणा गरेका थिए।

डिपसिक ओपन स्रोस डिपसिक- भी३ मोडलबाट ‘पावर्ड’ छ। डिपसिक आफ्नो शक्तिशाली एआई एसिस्टेन्सका लागि जानिन्छ। च्याटजीपीटीकै शैलीमा चल्ने यो च्याटबट अरुभन्दा निकै परिस्कृति रहेको बताइन्छ। यसले दिने उत्तरहर अन्य एआई एसिस्टेन्सभन्दा राम्रो रहेको कमेन्ट प्रयोगकर्ताहरुले दिइरहेका छन्। नेपाली प्रयोगकर्तामाझ पनि यसको प्रयोग बढिरहेको छ।