
आर्टिफिसियल इन्टेलिजेन्सको उदयसँगै विश्वभर विभिन्न प्राविधिक आयामहरु विस्तार भइरहेका छन्। पछिल्लो समय ‘डिपफेक’को चर्चा चुलिरहँदा अहिले चीनको ‘डिपसिक’ बारे विश्वभर चासो बढिरहेको छ।
डिपसिक चिनियाँ एआई च्याटबट हो। गत सातामात्रै ‘लन्च’ भएको यो एप अहिले अमेरिकामा सबैभन्दा बढी डाउनलोड हुने एपमा पर्छ।
एक्कासी डिपसिकको उदयसँगै अमेरिकी टेक जायन्टहरु अहिले यसबारे विस्तृत अध्ययनमा जुटेका छन्। सोमबार टेक जायन्ट कम्पनीहरुको सेयर मूल्यमा डिपसिकको प्रभाव देखियो। अधिकांश टेक कम्पनीको सेयर मूल्यमा गिरावट आउनुपछि डिपसिकलाई नै कारण मानिएको छ।
मल्टिनेश्नल टेक्नोलोजी कम्पनी एनभीडियासँगै, माइक्रोसफ्ट र गुगलको सेयर मूल्यमा गिरावट देखिएको हो। सोमबार एनभीडियाले सेयर बजारमा ६०० बिलियन अमेरिकी डलर गुमायो। सेयर बजारमा कम्पनीको सेयर मूल्य १७ प्रतिशतसम्म घट्यो।
डिपसिकले एआईमा अमेरिकी दबदबामाथि प्रश्न खडा गरेको विश्लेषण अहिले भइरहेको छ।
डिपसिक ओपन स्रोस डिपसिक- भी३ मोडलबाट ‘पावर्ड’ छ। डिपसिक आफ्नो शक्तिशाली एआई एसिस्टेन्सका लागि जानिन्छ। च्याटजीपीटीकै शैलीमा चल्ने यो च्याटबट अरुभन्दा निकै परिस्कृति रहेको बताइन्छ। यसले दिने उत्तरहर अन्य एआई एसिस्टेन्सभन्दा राम्रो रहेको कमेन्ट प्रयोगकर्ताहरुले दिइरहेका छन्।
प्राविधिक प्रतिस्पर्धीहरु भन्दा कम लागतमा यो च्याटबट निर्माण गरेको चिनियाँ पक्षको दाबी छ। निर्माताहरुले यसलाई ६० लाख अमेरिकी डलरको लागतमा निर्माण गरेको बताइरहेका छन्। जबकी यसका प्रतिस्पर्धाीहरुले करोडौं डलर च्याटबट र चिपमा लगानी गरिरहेका छन्।