
काठमाडौं। हाफ सेन्चुरी उकालो लागेको भोलिपल्ट नेप्से ओरालो लागेको छ। सेयर बजार बिहीबार ११.१० अंकले घटेर २६५४.३५ अंकमा आएको छ।
विकास बैंक र उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह घट्दा बजार ओरालो लागेको हो। फाइनान्सको सूचक सर्वाधिक २.४३ प्रतिशतले घटेको छ। सेयरमूल्य घटेर १५० कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ। सुपर मादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १०/१० प्रतिशतले घटेको हो।
८६ कम्पनीको सेयरमूल्य बढ्दा भने तिनका लगानीकर्ताले कमाएका छन्। तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ९ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा बिहीबार ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक ३० करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट २१ करोड ३८ लाख, युनाइटेड आइडीआइ मर्दी १९ करोड ५५ लाख र सिन्धु विकास बैंकको १७ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।