काठमाडौं । आज माघे सङ्क्रान्ति पर्व। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति समेत भनिन्छ।
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने विश्वास छ। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ।
माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ ।
थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन्। आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन्।
यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन्। थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ।
माघे सङ्क्रान्तिकै अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ। आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ। रासस











