
अहिलेको वैश्विक समाज प्रविधि निर्भर बन्दै गइरहेको छ। ‘टेक’ क्षेत्रमा बढ्दो अनुसन्धानसँगै जन्मिरहेका छन् नयाँ-नयाँ उत्पादन पनि। ती उत्पादित सामग्री प्रयोग गर्नेमा अहिलेको युवा पुस्ता नै अघि छ। अझ भनौँ ‘जेन जी’ पुस्ताले प्रविधिको विकासलाई आफ्नो जीवनशैलीसँग ढाल्न सुरु गरेका छन्।
सन् २०२४ मा ‘जेन जी’ शब्दको दबदबामै बित्यो। उनीहरूको रहनसहन, समाज र परिवारसँगको अपेक्षा, काम गर्ने फरक शैली इत्यादिमा प्राविधिक विकासले ठूलै असर गर्यो। १९९७ देखि २०१२ सम्म जन्मिएको यो ‘जेन जी’ पुस्ताको राष्ट्रसँगको चाहना पनि यसअघिका पुस्ता भन्दा निकै फरक रहेको देखियो। यो पुस्ताबारे अहिले चर्चा हुनुको मुख्य कारण हो राजनीतिक सहभागिता। जेन जी पुस्ता राजनीतिक मत राख्नेदेखि मतदानका लागि योग्य भइसकेका छन्। कतिपय देशमा संसद्मै पुगिसकेका छन् ‘जेन जी’।
जेन जीकै शैली पछ्याउँदै ‘जेन अल्फा’ हुर्किरहेका छन् अहिले। हातमा मोबाइल/ट्याब्लेट। सामाजिक संजाल र एपहरू। एआईको उच्च विकाससँगै प्रविधिकै वरिपरि विकास भइरहेको छ २०१३ देखि २०२४ सम्म जन्मिएका अल्फा पुस्ता पनि। अहिले जसरी जेन जीबारे चर्चा छ, आउने केही वर्षमा यो क्रम जेन अल्फाप्रति सोझिनेछ। र, यो क्रम नियरन्तर जारी नै रहन्छ।
आज सन् २०२५ को पहिलो दिन। जेन जी र अल्फा पुस्ता रमाइरहेको प्राविधिक विकासको युगमा नयाँ पुस्ताको आगमन सुरु भएको छ – अर्थात जेनरेशन बेटा। सन् २०२५ जनवरी १ देखि २०३९ सम्म जन्मिएका पुस्ता जेन बेटा कहलिनेछन्। यो पुस्ता ‘हाइपर टेक’ समाजमा जिउने पहिलो पुस्ता हुने विभिन्न अध्ययनहरूमा उल्लेख छ। यो पुस्ताको धेरैले २२ औं शताब्दीको आधार तय गर्नेछन्।
++
कम्प्युटर वैज्ञानिक अलान केले भनेका छन् – तपाईं जन्मिएपछि आविष्कार भएका सबै कुरा प्रविधि हुन्। अरु सबै फगत वस्तु।
अलानले यो भनिरहँदा उनले समाजमा ‘टेक्नोलोजी’ शब्दको व्याख्यालाई महत्त्व दिएका थिए। उनी प्रविधि व्यक्तिपरक हुने बताउँछन्। मानिस जसरी हुर्कियो उसले प्रविधिलाई त्यही अनुसार बुझ्ने अलानको मत छ। ८० को दशकमा जन्मिएका व्यक्तिको प्रविधिप्रतिको बुझाइ र २००० को दशकमा जन्मिएका पुस्ताले बुझ्ने प्रविधि फरक-फरक हुन सक्छ। यसले नै समाज कस्तो हुन्छ भन्ने निर्धारण गर्छ।
अहिलेको समाजको जग राख्ने ‘बिल्डर्स’ पुस्ता ८० पार भइसकेको छ। त्यो बेलाको प्रविधिक र अहिलेको प्रविधिमा ठूलै अन्तर आइसकेको छ। यो प्राकृतिक नियम नै हो।
आज आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँगै प्रविधि अघि बढिरहेको छ। सन् १९८० देखि १९९६ सम्म जन्मिएका ‘मिलेनियल्स’ र त्यसपछिको जेन जी एआईको सर्वाधिक प्रयोगकर्ता हुन्। यो दुई पुस्ताको ‘वर्क लाइफ ब्यालेन्स’ प्रविधिकै वरिपरि घुमिरहेको छ। जेनरेशन अल्फा उनीहरूलाई पछ्याउँदैछ। यसबीच आजबाट सुरु भएको नयाँ पुस्ता ‘जेन बेटा’का लागि प्रविधि नै सबै कुरा हुनेछ।
अल्फा जेनरेशनमा जन्मिएकाहरुको उमेर जति बढ्दैछन् त्यससँगै प्रविधिको प्रयोग र विकास पनि बढिरहेको छ। जेनरेशन बेटामा जन्मिएका बालबालिकाहरू किशोर अवस्थामा पुग्दा सम्म प्रविधिले थप फड्को मार्ने निश्चित छ। त्यसैले अलानले भने झैं बेटा पुस्ताका लागि सबै प्रविधि नयाँ हुनेछ। र, त्यही प्रविधिमै ‘एडप्ट’ हुनुपर्ने बाध्यता पनि उनीहरूसँग हुनेछ।

अध्ययनकर्ताहरू जेनरेशन बेटाका बालबालिकाहरूको जीवन जेन अल्फाभन्दा निकै फरक हुने बताउँछन्। २२ औं शताब्दीको आधार तय गर्ने यो पुस्ता प्रविधिमय हुनेछ। समाज र परिवारलाई उनीहरुले हेर्ने नजर निकै फरक हुनेछ। स्मार्ट डिभाइस र आर्टिफिसियल इन्टेलेजेन्सले यो पुस्ता सुसज्जित हुनेछ। जुन यसअघिका पुस्ताहरुले अनुभव गर्न पाएका थिएनन्।
अहिले जसरी मिलेनियल्स र जेन जी पुरान पुस्ताले देश र समाजको समस्या कसरी समाधान गरिरहेको छ भनेर चिन्तन र बहसमा छ आउने केही दशकमा उनीहरूकै नीति र योजनाबारे बहस र चिन्तनको नेतृत्व जेन अल्फा र बेटाले गर्नेछन्।
जसरी जेन जी पुस्ता अहिले राजनीतिक जीवनको प्रवेशविन्दुमा पुगेको छ उनीहरू राजनीतिक पदमा आसिन हुँदा जेन बेटा मतदानका लागि तयार हुनेछन्।
जेन बेटाको अधिकांश अभिभावक ‘जेन जी’ हुनेछन्। त्यसैले अहिले स्वतन्त्रता र छरितो सेवा खोज्ने जेन जी पुस्ताले जेन बेटाको आफ्नो सन्तानसँग ‘डिल’ गर्न फरक ‘एप्रोच’ लिन सक्नेछन्।
जेन जी र जेन अल्फा जस्तै जेन बेटा पनि सोसल मिडियासँगै हुर्किनेछन्। तर, समयसँगै सोसल मिडिया इन्डस्ट्रीमा आउने परिवर्तन र राज्यहरूले लिने नीतिले जेन बेटालाई प्रभावित पार्नेछ। जेन अल्फासँगै बेटासम्म आइपुग्दा प्रविधिमा नियमनको दायरा बढ्नेछ।
जेन जी पुस्तालाई सामाजिक संजालको प्रयोगको सकारात्मक र नकारात्मक कुराहरु थाहा छ। अहिले नै स्क्रिन टाइम र प्रविधिकबारे यो पुस्तामा व्यापक छलफल छ। उदाहरणका लागि अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक संजाल चलाउन रोक लगाउने निर्णय पारित गरिसकेको छ। यो निर्णयबाट प्रभावित जेन बेटा नै हुनेछ। अन्य देशहरुले पनि यसप्रकारकै नियमन सुरु गर्न थालेका छन्। आउने दिनमा जेन जीले प्रविधिबारे लिने कुने पनि निर्णयको सिधा असर जेन बेटामा पर्नेछ।

यो कुरा निश्चित छ जेन बेटा ‘टेक स्याभी’ हुनेछन्। उनीहरूका लागि प्रविधि नै जिजीविषाको एउटा प्रमुख आधार बन्नेछ किन भने त्यो बेलाको वैश्विक परिवेश नै प्रविधिमा थप निर्भर हुनेछ।
सन् २०३५ सम्म जेन बेटाको जनसंख्या विश्वभर १६ प्रतिशत पुग्ने एक अध्ययनले देखाएको छ। सो समयमा विश्वको वर्कफोर्समा जेन जीको हालीमुहाली हुनेछ।
समस्या र चुनौती
जेन बेटालाई समस्या नै नपर्ने भन्ने होइन। यो पुस्तासँग प्रविधिको पहुँच त हुनेछ नै। तर उनीहरूले जलवायु परिवर्तन, बढ्दो वैश्विक जनसंख्या र बढिरहेको सहरीकरणको प्रभावको पनि उत्तिकै सामना गर्नुपर्नेछ। र, जेन अल्फा झै समस्या समाधानका लागि जेन बेटा पनि प्रविधिमै निर्भर हुनेछन्। २१ औं शताब्दीमा सबैभन्दा बढी प्रभाव यही पुस्ताको हुने भएकोले उनीहरूको नीति त्यसबेलाको समाजको आधार बन्नेछ।
अन्त्यमा प्रविधिको जति विकास भए अहिले त्यसको प्रयोग र नियमनबारे पनि व्यापक चर्चा छ। मिलेनियल्स होस् या जेन जी, सबै पुस्ता प्रविधिको फड्कोसँगै आउने समस्या र त्यसले समाजमा उत्पन्न गर्ने संकटबारे पनि मन्थनमा छन्।
एआईको प्रयोगले भइरहेको अपराध र त्यसले समाजमा पारेको प्रभाव अहिलेको मुख्य चुनौतीको रुपमा उदाएको छ। जेन बेटा यो चुनौतीबाट सबैभन्दा बढी प्रभावित हुनेछन्। यो त्यस्तो पुस्ता पनि हो जो देशहरुबीच हुने ‘टेक वार’को असरमा मुक्त हुनेछैन। बढ्दो प्रविधिसँगै त्यससँग आउने चुनौतिलाई सामना गर्नु यो पुस्ताको लागि आफ्नैमा चुनौती हुनेछ।
त्यसैले प्रविधिले समाजको सद्भाव र मानवीय गुणमा नकारात्मक प्रभाव पार्न दिन हुन्न भन्नेमा मत बलियो पनि बनिरहेको छ। तर, प्रविधिको विकासलाई रोक्न सकिँदैन। यससँगै ‘एडप्ट’ हुँदै जानुको विकल्प पनि छैन। त्यसैले हरेक प्राविधिक विकाससँगै मानवको अस्तित्व र व्यवहारबारे चिन्तन त अब हुनेछ नै। आखिर सबै कुरा आएर टुंगिने मान्छेमै त हो।
अलबर्ट आइन्स्टाइनले त्यसै भनेका होइनन् : मानवीय भावना प्रविधिमाथि जहिलै हाबी हुनुपर्छ।