टेलिकम कम्पनीको खस्कँदो व्यापारपछि हुवावेले नेपालमा फेर्दै रणनीति, सौर्य ऊर्जा उच्च प्राथमिकतामा

उन्नत सापकोटा
२०८१ पुष ८ गते १५:३५ | Dec 23, 2024
टेलिकम कम्पनीको खस्कँदो व्यापारपछि हुवावेले नेपालमा  फेर्दै रणनीति, सौर्य ऊर्जा उच्च प्राथमिकतामा

काठमाडौं। नेपाली बजारमा कुनै समय चिनियाँ स्मार्टफोन ब्राण्ड हुवावेको राज थियो। हुवावेको मेट, पी, नोभालगायतका सिरिजले नेपाली बजारमा स्मार्टफोनको परिचय नै बदलिदियो। हुवावेको मिड रेन्जदेखि फ्लागसिप फोनको ‘चार्म’ सन् २०१४/१५ ताका नेपालको युवा पुस्तामा गहिरोसँग गड्यो। 

Tata
GBIME

कुनैबेला हुवावेले स्मार्टफोनबाट नेपालमा मनग्य आम्दानी गर्थ्यो। तर, जब अमेरिकी टेक कम्पनी गुगलले हुवावेको डिभाइसमा आफ्नो सफ्टवेयर दिन बन्द गर्‍यो तब उसको स्मार्टफोनको बिक्री विश्व बजारमै नमज्जाले घट्यो। नेपालमा पनि उसको बजार सुक्यो।

हुवावेको ग्याजेट बजार खोसिएपछि त्यसको लाभ चिनियाँ ब्राण्ड साओमी, ओप्पो, वानप्लसलगायतले उठाइरहेका छन्।

आम्दानीको मुख्य स्रोत खुम्चिएपछि हुवावेले आफ्नो ध्यान दूरसञ्चार क्षेत्रमा केन्द्रित गर्‍यो। नेपालका दुई दूरसञ्चार अपरेटर नेपाल टेलिकम र एनसेल हुवावेसँग निर्भर बने। २५ वर्षदेखि नेपाली बजारमा सक्रिय हुवावेले नेपाली अपरेटरहरुको नेटवर्क व्यवस्थापन गर्दै आएको छ। हुवावेसँग नेपाल र यहाँका कम्पनी सुहाउँदो जनशक्ति, अपरेसन मेन्टिनेन्स सेन्टर (ओएमसी) छ। 

त्यसकै बलमा हुवावेले एनसेलदेखि नेपाल विद्युत प्राधिकरणका लागि अत्याधुनिक डेटा सेन्टर निर्माण गरिसकेको छ। नेपाल टेलिकमको फाइभजी परीक्षणमासमेत हुवावे प्रत्यक्षरुपमा जोडिएको छ। यससँगै विभिन्न इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा ग्राहकसम्म पुर्‍याउन हुवावेका विभिन्न उपकरण प्रयोग गर्दै आएका छन्।

दूरसञ्चार र इन्टरनेट सेवामा ठूलो प्रभाव जमाइरहेको हुवावे यति हुँदाहुँदै पनि खुम्चिएको व्यापारका कारण अब नयाँ क्षेत्रमा हात हाल्ने निचोडमा पुगेको छ। हुवावे नेपालमा फाइभजी व्यावसायिकरुपमा सुरु भए अपरेटरहरुलाई आवश्यक प्राविधिक सहयोग गर्न तयार देखिन्छ।

तर, सरकारी स्वामित्वको टेलिकमले परीक्षण सकेको भनिएपनि भूराजनीतिक टकरावका कारण अझै पनि व्यावसायिकरुपमा सुरु गर्न सकेको छैन। निजी क्षेत्रको एनसेलसमेत नेपालमा फाइभजीको बजारलाई ‘पर्ख र हेर’को रणनीतिमा छ। 

उसो त नेपाल टेलिकम र एनसेल खस्किंदै गइरहेको व्यापारका कारण फाइभजीमा लगानी गर्न नसक्ने बुझाईमा पुगिसकेका छन्। पछिल्लो चार वर्षयता लगातार ४० प्रतिशत लाभांश दिँदै आएको नेपाल टेलिकमले आम्दानी खस्किएको भन्दै आर्थिक वर्ष २०८०/८१ का लागि ३० प्रतिशत मात्रै नगद लाभांश दिने घोषणा गरेको छ।

एनसेलले पनि आफ्नो नाफाभन्दा खर्चको ग्राफ उकालो लागिरहेको भन्दै सेवाको गुणस्तर सुधार्न ठूलो खर्च गर्न नसक्ने जनाएको छ।

आफ्ना उपकरण र सेवा बढी खरिद गर्ने टेलिकम र एनसेल दुवैको आम्दानी खुम्चिंदै गएर सस्टेन हुने/नहुने दोसाँधले पिरोलिएको अवस्थामा हुवावे नेपालमा पनि सौर्य ऊर्जाको क्षेत्रमा हात हाल्ने तयारी साथ अघि बढेको छ।

हुवावेले पब्लिक रिलेसन्स हेरिरहेका जेम्स झ्याङलाई २०२५ जनवरीदेखि डिजिटल पावर बिजनेस युनिट खडा गर्दै यो भर्टिकलको जिम्मेवारी दिएको छ। 

डिभाइसबाट यात्रा सुरु गरेको हुवावेले इन्टेलिजेन्ट अटोमोटिभ सोलुसन, कनेक्टिभिटी, कम्प्युटिङ, क्लाउड हुँदै अब भने डिजिटल पावरलाई प्राथमिकतामा राखेको हो। डिजिटल पावरअन्तर्गत हुवावेले स्मार्ट पिभी र ऊर्जा भण्डारणमा काम गर्नेछ।

यस्तै, विद्युतीय गाडीका लागि स्मार्ट चार्जिङ नेटवर्क निर्माणमा पनि हुवावे तयार रहेको झ्याङले बताए।

हुवावेले चीनको जी ३१८ राजमार्गमा अल्ट्रा फास्ट चार्जिङ स्टेसन बनाएको छ। ५ सेकेन्डको चार्जमा इभीले २० किलोमिटर रेन्ज दिनसक्ने उनले बताए।

हुवावेले नेपालमा लगानी बढ्ने सम्भावित क्षेत्रको रुपमा सोलार ऊर्जालाई अर्थ्याउँदै आफ्नो रणनीति अघि सारेको हो। आफूले विश्वभर अहिलेसम्म ११ खर्ब किलोवाट आवर हरित ऊर्जा उत्पादन गरिसकेको हुवावेको दाबी छ।   

झ्याङले नेपाल सोलार ऊर्जाका लागि उपयुक्त हुने बताए। ‘नेपालमा धेरै पहाडी भूभाग छन्। धेरै ठाउँ छन् जहाँ बाली लगाइँदैन। त्यस्ता स्थानहरुमा सोलार जडान गरेर पनि नेपालले सौर्य ऊर्जा उत्पादन गर्न सक्छ। जलविद्युतमा मेरो फरक मत होइन। तर सोलार नेपालका लागि ऊर्जाको दरिलो स्रोत बन्न सक्छ,’ उनले भने।

जलाशययुक्त आयोजना अपवादबाहेक नरहेकाले हिउँदमा कुल क्षमताको ज्यादै कम बिजुली उत्पादन हुने गर्छ। त्यही कारण नेपाल विद्युत प्राधिकरणले माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ।   

झ्याङले आफू झापालगायत धेरै जिल्लामा पुगेको भन्दै चिया बगानमै पनि ठूलो स्केलको सोलार परियोजना बन्न सक्ने बताए।

उनले चीनको उदाहरण दिएर चिया बगानमा सोलार परियोजनाको सम्भावना औंल्याएका हुन्। उनका अनुसार चीनको क्विङहाइमा सान्तारा युटिलिटी स्केल पीभी परियोजना बनेको छ। २.२ गिगावाट क्षमताको यो परियोजना भेडाको फार्ममा निर्माण गरिएको छ।

झ्याङ नेपाल अब उर्जा भण्डारणतर्फ पनि नेपाल अघि बढ्नुपर्ने बताउँछन्। हुवावेले फ्युजन सोलार सोलुसनमार्फत सोलार इनर्जीमा काम गरिरहेको छ। कम्पनीले घरासायी तथा व्यावसायिक प्रयोजनका लागि यस्ता परियोजना निर्माण गरिरहेको छ।

हुवावेले साउदी अरेबियामा ठूलोमध्येको माइक्रो ग्रीड इएसएस प्लान्ट निर्माण गरिसकेको छ। जसलाई हुवावेले रेड सि प्रोजेक्ट नाम दिएको छ। यसको कुल क्षमता ४०० मेगावाट हो। झ्याङ नेपाल आएको तीन वर्ष भयो। उनी त्यसअघि हुवावेकै लागि साउदी अरबमै थिए।