काठमाडौं। चार खेल, चार खेलमै जित। नेपाल प्रिमियर लिग (एनपीएल)मा यो लोभलाग्दो नतिजा हो जनकपुर बोल्ट्सको।
जनकपुरले जारी प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्स, दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा पोखरा एभेन्जर्स र आज चौथो खेलमा लुम्बिनी लायन्सलाई हरायो।
जनकपुरको यसअघिका ३ खेल र आजको खेलमा केही भिन्नता छन्। अघिल्ला खेलहरूमा जनकपुरले फराकिलो जित निकालेको थियो। लुम्बिनीविरुद्ध भने खेलको अन्तिम बलसम्म पुगेर १ रनको जित निकाल्यो।
यसअघिका ३ खेलमा गरेर जनकपुरले कुल ७ विकेटमात्र गुमाएको थियो। विराटनगर र कर्णालीविरुद्ध समान दुई तथा पोखराविरुद्ध तीन।
आज लुम्बिनीविरुद्ध भने १३६ रन बनाउन जनकपुरले ९ विकेट गुमायो। अर्थात जनकपुरको मिडलअर्डर टेस्ट हुन चौथो खेल पर्खनुपर्यो।
‘हामीले जितिरहेको बेलमा पनि मिडल अर्डरको ब्याटिङ कुनै पनि खेलमा आउनसक्छ भनेर सबैजना यसमा तयार थियौँ। सर्प्राइजिङ केही पनि थिएन। तर ‘एक्जिक्युट’ गर्न सकेन,’ जनकपुरका मार्की खेलाडी आशिफ शेखले भने।
मध्यक्रमका शुभ कंशाकारलाई छाड्ने हो भने लुम्बिनीविरुद्ध पनि सर्वाधिक रन शीर्ष तीन ब्याटरबाटै बन्यो।
‘पहिलो इनिङ्स टीयूमा कस्तो हुन्छ भन्ने हामीलाई थाहा नै छ। जहिलै स्लो हुन्छ। प्लान यो थियो कि पावर प्लेको युटिलाइज गर्ने। किनभने मिडल ओभरमा स्पिनर अलिकति रनरेट स्लो हुन्छ,’ शेखले भने, ‘पावरप्लेमा राम्रो स्टार्ट पाइसकेपछि पनि मिडलओभरमा त्यति राम्रो हुन सकेन। फिनिस पनि त्यति राम्रो हुन सकेन।’
एनपीएलको सन्तुलित टोलीमध्येको एक टोली जनकपुरसँग राष्ट्रिय टोलीका दुई मुख्य विकेट किपर ब्याटर छन्। शेख र कप्तान अनिलुकमार शाह।
तर यसअघिका खेलमा लाहिरु मिलन्थाले विकेट किपिङ सम्हाल्दै आएका थिए। आजको खेलमा विकेटकिपिङ आशिफले सम्हाले।
‘टिम कम्बिनेसनको पनि कुरा हुन्छ। फिल्डिङमा पनि मैले योगदान गर्दा टिमलाई अलिकति सहयोग हुन्छ भने त्यो गर्न म तयार छु,’ उनले भने।
आजको खेलमा राम्रो सुरुवात गरेको जनकपुरले मध्य र तल्लोक्रमका ब्याटर नचल्दा ठूलो स्कोर बनाउन चुक्यो। यसैलाई लुम्बिनीविरुद्ध पनि रणनीति बनाएर मैदान उत्रिएको आशिफ बताउँछन्।
‘हामीले सुरुमा स्टार्ट राम्रो पाइरहेको थियो। तर मिडल ओभरमा अचानक कोल्याप्स्ड भयो,’ आशिफले भने, ‘हामीले पनि त्यही विश्वास राखेको थियौँ कि पार्टनरसिप राम्रै भए पनि कुनै पनि बेला कोल्याप्ड हुनसक्छ ब्याटिङमा भन्ने थियो।’
उनले योजना अनुसार स्टम्पमा स्ट्रिक गर्ने, अनुशासित बलिङ लगायत बेसिकमा बढी ध्यान दिएको बताए।
‘विपक्षीको साझेदारी बनेपनि जुनसुकै बेला पनि ब्याटिङ कोल्याप्स्ड हुन सक्छ भन्ने सोचमा थियौँ,’ उनले भने।
जनकपुरको ब्याक-टू-ब्याक 4 जितले सोच्न बाध्य बनाएको छ, यो जितको सूत्र चाहिँ के हो?
‘टिमको माहोल राम्रो भयो भने सबैकुरा राम्रो हुन्छ। त्यही ट्राइ गरिरहेका छौँ कि सबैजना पोजिटिभ होस्। अन द फिल्ड पनि र अफ द फिल्ड पनि। एकजुट भएर एउटा टिमका रुपमा खेलिरहेका छौँ,’ उनले भने।
जनकपुरले आगामी खेलमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज र चितवन राइनोजसँग खेल्दैछ।
‘हामी एक पटकमा एक खेल लिएर अघि बढेका छौं। अहिले पनि हामी सहज अवस्थामा हुँदैनौं अर्को खेलमा यो खेलभन्दा बढी लाग्नु पर्छ,’ आशिफले भने।
सम्बन्धित समाचार: अन्तिम बलमा विकेट लिँदै जनकपुरको १ रनको रोमाञ्चक जित, लुम्बिनी चौथो खेलमा पनि पराजित
सम्बन्धित समाचार: लुम्बिनीका गौतमले घातक बलिङ गर्दा १ सय ३६ रनमा रोकियो जनकपुर
सम्बन्धित समाचार: लुम्बिनीसँग टस हारेर ब्याटिङमा जनकपुर, जितविहीन र अपराजित टोली आमनेसामने











