
काठमाडौं।लगानी बोर्डलार्इ शक्तिशाली बनाउन ऐन संशोधन गरिने भएको छ।मंगलबार बसेको बोर्ड बैठकले लगानी बोर्ड ऐन संशोधनका लागि प्रकृया अघि बढाउने निर्णय गरेको छ।
बोर्डले ऐन संशोधनको ड्राफ्ट तयार गरिसकेको छ।बोर्डका अनुसार ऐन संशोधनको अध्ययनका लागि प्रधानमन्त्री कार्यालयका सचिव लालशंकर घिमिरेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत भएको छ।
ऐनमा नै आफ्नो अधिकार बढाएर शक्तिशाली बनाउने र विदेशी लगानीकर्तालाई लगानी भित्र्याउन सहजता ल्याउनका लागि सबै प्रक्रिया एकै स्थानबाट (वान डुअर) दिन सक्नेगरी अधिकार सम्पन्न बनाउने तयारी बोर्डको छ।
बोर्डले विदेशी लगानीका विषयमा गरिएका लगानी नै अन्तिम हुने र त्यसबाट भएका निर्णयमा अन्य मन्त्रालयले थप काम गरिरहनु नपर्ने गरी ऐन संशोधन गर्न खोजिएको छ।अहिले कतिपय निर्णयका लागि अन्य मन्त्रालय र सरकारी निकाय धाउनुपर्ने अवस्था छ।










