रइसा र भन्सारबीचको विवादले पाम आयल निर्यात अनिश्चित, गाँठो फुकाउने प्रयास असफल



अनन्तराज न्यौपाने
२०८१ मंसिर २१ गते ०६:३१ | Dec 6, 2024
रइसा र भन्सारबीचको विवादले पाम आयल निर्यात अनिश्चित, गाँठो फुकाउने प्रयास असफल

विराटनगर । जनकपुर रिफाइनरीजका सञ्चालक रइसा टिवडेवालले भन्सार कार्यालय र विभागमा बोल्दाबोल्दै कुरा खुस्काएपछि पाम आयलको निर्यातमा लागेको खग्रास ग्रहण अझै हटेको छैन।

Tata
GBIME
Nepal Life

यसका कारण देशभरिका २६ वटा रिफाइनरीले सधैँ आयात गर्ने गरेको कच्चा पदार्थ ल्याएर त्यसको प्रशोधन गरेर निर्यात गर्न सकिरहेका छैनन्।

भारतले गत भदौ २९ गते सूर्यमुखी, पाम र सोयाबिन तीन वटै तेलको कच्चा पदार्थमा लाग्दै आएको भन्सार महसुल ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो। यसपछि नेपालबाट साफ्टाअन्तर्गत शून्य प्रतिशत महसुलमा तीन वटै तेल भारत निर्यात गर्दा उल्लेखनीय फाइदा हुने मार्गप्रशस्त पनि भएको हो।

तर, चालु आर्थिक वर्षको बितेका ४ महिनामा सोया, पाम र सनफ्लावरमध्ये सबैभन्दा कमजोर निर्यात पाम तेलकै देखिएको छ। सोया र सनफ्लावर तेलको निर्यात उत्साहजनक छ। जबकि अघिल्ला वर्षहरूमा सोया र सनफ्लावरभन्दा पाम तेलको निर्यात धेरै हुने गर्थ्यो।

रइसाले नै रहस्य छताछुल्ल बनाएपछि सचेत भएको भन्सार विभागले एक तह प्रशोधन भइसकेको तेललाई कच्चा पदार्थको वर्गीकरणबाट जाँचपास गर्न रोक लगाएको छ।

रइसाको रहस्योदघाटनपछि एक तह प्रशोधन भएको तेल तयारी वस्तुकै वर्गीकरणबाट जाँचपास भइरहेको छ। तयारी वस्तुकै वर्गीकरणबाट आयात भएको वस्तुको प्रशोधनबाट तयार भएको पाम तेल त्यही वर्गीकरणबाट निर्यात हुन नसकेको हो।

उद्योगीहरू समस्याको गाँठो फुकाउन ९ महिनादेखि निरन्तर मन्त्रालय र विभाग धाइरहेका छन्। तर समस्या अहिलेसम्म पनि जहाँको तहीँ छ।

भएको के हो ? 

रइसाले भन्सार विभाग र विराटनगर भन्सार कार्यालयमा पुगेर नेपालका सबै रिफाइनरीले क्रुड पामोलिनका नाममा एक तह प्रशोधन भइसकेको पामोलिनको आयात गर्छन् भन्ने रहस्य खोलेकी थिइन्। यो समय फागुनको तेस्रो साता थियो।

यसपछि भन्सार विभागले देशभरिका भन्सार कार्यालयलाई परिपत्र गर्दै क्रुड आयलका नाममा घोषणा भएका सबै प्रकारका वस्तुलाई विभागको प्रयोगशालामा परीक्षण गराएर, त्यसको प्रतिवेदनका आधारमा मात्र जाँचपास गर्न निर्देशन दियो।

यो निर्देशनको चोटमा सबैभन्दा पहिले जनकपुर रिफाइनरीज नै पर्‍यो। विराटनगर भन्सार कार्यालयमा चैत २१ गते यस उद्योगका १० वटा ट्यांकर आइपुगे। ट्यांकरमा क्रुड पामोलिन भएको दाबी जनकपुर रिफाइनरीले गरेको थियो। तर कार्यालयले १० वटै ट्यांकरमा भएको वस्तुको नमुना परीक्षणका लागि विभाग पठायो।

विभागले परीक्षणपछि भन्यो, ‘उक्त वस्तुले एक तहको प्युरिफिकेसन वा रिफाइनिङ गरिसकेको हुँदा यसलाई क्रुड पामोलिन मान्न सकिएन।’

यसपछि विराटनगर भन्सारले यस वस्तुलाई क्रुड पामोलिनको वर्गीकरणमा पर्ने हार्मोनाइज्ड कोड १५१११० बाट जाँचपास नगर्ने अडान लियो। कार्यालयले यसलाई तयारी वस्तुको कोड १५११९०२० मा मात्र जाँचपास गर्ने बतायो।

तर, जनकपुर रिफाइनरीजले क्रुड पामोलिनकै कोडबाट छाड्न दबाब दिइरह्यो।

विराटनगर भन्सारको अटेरपछि जनकपुर रिफाइनरीजले न्यायालय गुहार्‍यो। उसले उच्च अदालत पाटनमा रिट दायर गर्‍यो।

अदालतले उक्त १० कन्टेनर वस्तुलाई क्रुड पामोलिनको हार्मोनाइज्ड कोड १५१११० मा धरौटी लिएर छाड्न आदेश दियो।

क्रुड पामोलिनको भन्सार महसुल १० र रिफाइन्डको १५ प्रतिशत छ।

तर, भन्सार विभागको आसिकुडा सिस्टममा एउटै वर्गीकरणका वस्तुमा कम महसुल लाग्ने कोडबाट धरौटीमा जाँचपास गर्ने व्यवस्था छैन। त्यसैले कार्यालयले अदालतको आदेश स्वीकार गर्न सकेन।

यसपछि जनकपुर रिफाइनरीज भन्सारविरूद्ध अदालतको अवहेलना मुद्दा लिएर सर्वोच्च पुग्यो। अनि भन्सार विभागले रातारात आसिकुडाको सिस्टमलाई नै परिवर्तन गरेर जनकपुर रिफाइनरीजले ल्याएको वस्तुका लागि मात्र नयाँ सिस्टम बनाएर उक्त वस्तुलाई क्रुड पामोलिनकै कोड राखेर धरौटीमा छाड्यो।

विभाग र कार्यालयमा मुद्दाका फाइलको चाङ

जनकपुर रिफाइनरीजले विभाग र भन्सार कार्यालय विराटनगरविरूद्ध मुद्दामाथि मुद्दा लगाउन थाल्यो। विभागका कानुन अधिकृत गणेश विकका अनुसार उच्च अदालत पाटनमा ३ र सर्वोच्चमा ३ गरि ६ वटा मुद्दा छन्।

विभागका एक अधिकारीले भने, ‘जनकपुर रिफाइनरीजको तारेख खेप्ताखेप्ता हैरानीको अनुभव भएको छ। सानो कुरामा चित्त बुझेन भने अदालत गइहाल्ने र मुद्दा हालिहाल्ने उहाँहरूको नीति रहेछ।’

यता अन्य रिफाइनरी उद्योगीहरू रइसा र भन्सार विभागबिच मेलमिलाप गराउने प्रयासमा लागेको पनि ८ महिना भइसकेको छ। तर सबै प्रयास विफल भएका छन्।

मध्यस्थकर्ताले रइसाले मुद्दा फिर्ता लिने र विभागले एक चरण प्रशोधन भइसकेको तेललाई क्रुड पामोलिनको कोड १५१११० बाट जाँचपास गर्ने सहमति गराउन खोजेका थिए। तर, पहिला जनकपुर रिफाइनरीजकै पक्षबाट आफू सम्झौता नगर्ने- जे हुन्छ, अदालतबाटै हुन्छ भन्ने अडान आयो। यसपछि भन्सारले पनि सिस्टम बिगारेर काम नगर्ने र एक तह प्रशोधन भएको तेललाई क्रुडको कोडबाट जाँचपास नगर्ने अड्डी लियो।

यसका कारण मध्यस्थकर्ताहरू निराश भएका छन्। यसरी पहिलेजस्तै एक तह प्रशोधन भइसकेको पामोलिन ल्याएर त्यसलाई प्रशोधन गरेर पाम तेल निर्यात गर्ने बाटो बन्द भएको छ।

घट्यो पामको निर्यात

यसको असर निर्यातको तथ्यांकमा परेको छ। गत आर्थिक वर्षको कात्तिक सम्ममा १ अर्ब ४५ करोडको भटमासको तेल र १ अर्ब १६ करोडको सूर्यमुखीको तेल निर्यात हुँदा १ अर्ब ६२ करोडको पामोलिन निर्यात भएको थियो।

तर, चालु आर्थिक वर्षको कात्तिकसम्ममा पामोलिनको निर्यात घटेको छ। जसअनुसार ३ अर्ब ४१ करोडको भटमासको तेल र १ अर्ब ५१ करोडको सूर्यमुखीको तेल निर्यात हुँदा ४४ करोडको मात्र पामोलिन निर्यात भएको छ।

यसरी पाम तेलको निर्यातमा लागेको ग्रहण अहिलेसम्म पनि हटेको छैन।

अब पहिले झैँ एक तह प्रशोधन भएको पाम तेल आयात गरेर त्यसलाई रिफाइन गरेर निर्यात गर्ने बाटो बन्द भएको छ।

उद्योगीका अनुसार अहिले निर्यात भएको पामोलिन २०८० फागुनको तेस्रो साताभन्दा पहिले आएको पुरानो कच्चा पदार्थबाट प्रशोधन गरिएको हो। रइसाले पोल खोलेपछि आएको कच्चा पदार्थबाट प्रशोधन गरिएको होइन।

उद्योगीहरू एक तह प्रशोधन भएको तेललाई नै क्रुडको हार्मोनाइज्ड कोडबाट आयात गर्न दिनुपर्छ भन्ने माग राखेर गत चैतदेखि मन्त्रालय र विभाग धाइरहेका छन्।

उनीहरूका अनुसार यसको निर्यात गर्ने देश मलेसिया र इन्डोनेसियामा ओरिजनल क्रुड पामोलिनभन्दा एक तह प्रशोधन भइसकेको पामोलिन टनको ६० डलरले सस्तो पर्छ। दुवै मुलुकमा ओरिजनल क्रुडको निर्यात गर्दा पनि ६ प्रतिशत अतिरिक्त शुल्क छ । दुबै देशका सरकारले निर्यातमा समेत यस्तो शुल्क हटाएका छैनन्।

ओरिजनल क्रुड पामोलिनबाट तेल प्रशोधन गर्दा टेस्टेरिन, ग्लिसरिन, पाम फ्याट्टीजस्ता बाई प्रोडक्ट निस्कन्छन्। यी बाई प्रोडक्टको बजार पाउन मुस्किल छ।

यो पामोलिनको प्रशोधन गर्ने मेसिन नेपालका सबै उद्योगसित छैनन्। प्रशोधन प्रक्रिया पनि महँगो र झन्झटिलो छ।

उद्योग संगठन मोरङका उपाध्यक्ष एवम् क्वालिटी रिफाइनरीजका सञ्चालक विपिन काबराले भने, ‘नेपाल सरकारले हामीलाई क्रुड आयलकै कोडमा एक तह प्रशोधन भएको तेलको आयात गर्न नदिए अब पामोलिनको निर्यात हुनेछैन। अहिलेसम्म भएको निर्यात गत वर्ष फागुनभन्दा पहिले ल्याएको कच्चा पदार्थबाट उत्पादित हो। सरकारलाई निर्यात प्रवर्धन गर्नुछ र व्यापार घाटा घटाउनु छ भने हामीले ल्याएको कच्चा पदार्थ क्रुड आयलकै कोडमा जाँचपास गरिदिनु पर्छ।’

उद्योगी काबराले भारतसहित विश्वभरिका देशले एक तह प्रशोधन भएको तेललाई क्रुडकै कोडमा जाँचपास गरिरहेको जिकिर गरे।

हुँदैन, सकिँदैन, मिल्दैन– डिजी पुडासैनी

सरकार पक्ष अझै पनि एक तह प्रशोधन भइसकेको पामोलिनलाई क्रुडको कोडबाट जाँचपास नगर्ने अडानमा दृढ देखिएको छ।

भन्सार विभागका डिजी हरिशरण पुडासैनीले बिजमाण्डूसँग प्रतिप्रश्न गरे, ‘क्रुड पामोलिनलाई पो क्रुडको कोडबाट जाँचपास गर्ने हो त। एक तह प्रशोधन भइसकेको पामोलिनलाई कसरी मिल्छ?’ यसो गर्न मिल्दैन, नैतिक रुपमा गर्नु हुँदैन। गर्न सकिँदैन। नियम, कानुन, अधिकार केहीले दिँदैन। कसरी गर्ने?’

डिजी पुडासैनीले जुन वस्तु हो त्यही वस्तुको कोडबाट जाँचपास गर्ने भन्सारको सामान्य नियम, मर्यादा र प्रचलन रहेको उल्लेख गर्दै यसको बर्खिलाप गर्न नसकिने स्पष्ट पारे।

अर्को कोड बनाउँदा के होला ?

भन्सारले निर्धारण गरेको दरबन्दीमा क्रुड र प्रशोधित पामोलिनको हार्मोनाइज्ड कोड छ तर अर्धतयारी अर्थात् अर्धप्रशोधित वा एक तह प्रशोधन भइसकेको पामोलिनको कल्पना गरिएको छैन। त्यसैले यसका लागि छुट्टै कोडको व्यवस्था छैन।

नेपाल सरकारले बजेट भाषणका बेला आर्थिक ऐन बनाउँदा यसका लागि छुट्टै कोड तयार गर्नसक्छ। कुनै पनि वस्तुको ८ अंकको कोडमा पहिलो ६ अंक विश्व भन्सार संगठनको हुन्छ। कुनै पनि मुलुकले आफ्नो देशको अवस्था हेरेर पछिल्ला २ अंकमा थपघट गरेर नयाँ वर्गीकरण गर्न पाउने व्यवस्था छ।

तर, यसरी नयाँ वर्गीकरण गरेर छुट्टै कोड बनाउँदा पनि निर्यात संचालन हुने देखिन्न।

एक उद्योगीका अनुसार भूटानमा पनि क्रुड र एक तह प्रशोधन भइसकेको तेलको समस्या आएको थियो। यसपछि भूटानले एक तह प्रशोधन भइसकेको तेललाई अर्ध प्रशोधित तेल भन्दै नयाँ कोड बनायो।

तर भारतले भूटानमा उक्त नयाँ कोडबाट आयात भएको वस्तुबाट प्रशोधित तेल आयात गर्ने अनुमति त्यहाँका व्यवसायीलाई दिएन।

यसरी नेपालले एक तह प्रशोधन भइसकेको तेललाई अर्को वर्गीकरणमा राखेर नयाँ हार्मोनाइज्ड कोड बनायो भने पनि त्यसबाट प्रशोधित तेलको निर्यात हुन नसक्ने देखिएको छ।