![]()
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले पुसको १६ गते पानी जहाज चढ्न निम्तो गरे पनि पानी जहाज भने आगामी दुई वर्षभित्र मात्र चल्ने भएको छ।
इनल्याण्ड वाटरवे सञ्चालनका लागि नेपाल र भारतका अधिकारीहरुबीचको छलफलले दुई वर्षभित्र गण्डक नदीमा नेपाली पानी जहाज सञ्चालन गर्ने गरी काम अगाडि बढाउने निर्णय भएको छ। दुई देशका अधिकारीहरुबीच काठमाडौंमा आइतबारदेखि दुईदिने बैठक सुरु भएको हो। सो बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको ओलीको भारत र चीन भ्रमणमा भएका सहमतिको कार्यान्वयनका अवस्थाका विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन्।
यसका लागि भारतीय पक्षले अध्ययन समेत गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए। ‘उहाँहरुले आफ्नो तर्फबाट अध्ययन सुरु गरिरहनु भएको छ,’ उनले भने ‘प्रारम्भिक अध्ययनमा गण्डक नदीमा जहाज चलाउन सक्ने देखिएको उहाँहरुले जानकारी गराउनु भएको छ।
दुई देशका अधिकारीहरुको बैठकमा गण्डक नदीमा जलयातायात सञ्चालनको विषयमा छलफल भएको भन्दै मन्त्री ज्ञवालीले भने, ‘आगामी दुई वर्षभित्र गण्डक नदीमा ३०० मेट्रिक टन क्षमताका पानि जहाज सञ्चालन गर्ने गरी तयारी गर्ने निर्णय बैठकमा भएको छ।’
उनले यस विषयमा विस्तृत जानकारी बैठक सकिएपछि आउने समेत बताए।
यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा इनल्याण्ड वाटर वे सञ्चालन गर्ने विषयमा समझदारी भएको थियो।
दुई देशबीचको व्यापार तथा पारवाहन सन्धी अन्तर्गत कार्गो सेवा सञ्चालन गर्न इनल्याण्ड वाटरवे सञ्चालन गर्ने सम्बन्धि सहमति गर्दै पानीजहाज सञ्चालनका लागि दुबै देशका प्रधानमन्त्रीले आफ्ना सरोकारवाला अधिकारीलाई योजना निर्माण तथा साझा सहमति जुटाउन निर्देशन दिएका थिए। साथै उनीहरुले आवश्यक प्रक्रिया, मोडालिटी तयार गर्न समेत निर्देशन दिएका थिए।
सोही सहमतिलाई कार्यान्वयनमा लैजाने गरी जल यातायात क्षेत्रको समग्र पक्षको अध्ययन गर्न द्विपक्षीय छलफल सुरु गरिएको हो।
सहसचिव स्तरीय छलफलमा नेपालमा जल यातायात संचालनका लागि भारतको पटनास्थित कालुघाटमा नेपाली पक्षले तत्काल स्थलगत अवलोकन गर्ने सहमति पनि गरिएको छ। जल यातायात सञ्चालनका लागि दुवै देशको सम्भावित नदीहरुमा स्थलगत अवलोकन छिट्टै गर्ने सहमति भएको सहसचिव वेलवासेले जानकारी दिए।
रेलवेको एमओयु छिट्टै
यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले रक्सौल–काठमाडौँ रेलवे सम्बन्धि समझदारीपत्र (एमओयु)मा छिट्टै हस्ताक्षर गरिने जानकारी दिए। यसका लागि दुबै देशका अधिकारीहरु छलफलमा रहेको भन्दै छलफल पछि छिट्टै एमओयुमा हस्ताक्षर गरिने उनले बताए।
प्रधानमन्त्रीको भारत भ्रमणका बेला रक्सौल–काठमाडौँ इलेक्ट्रिफाइड रेलवे निर्माणका विषयमा सहमति भएको थियो। सहमति अनुसार भारतले रक्सौलदेखि काठमाडौँसम्म रेलसेवा सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो।
सोही अनुरुप दुई देशका अधिकारीहरु छलफलमा जुटेको उनले बताए।
कृषिमा साझेदारीका लागि प्रक्रिया अगाडि बढ्यो
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार कृषि क्षेत्रमा साझेदारीका विषयमा समेत प्रक्रिया अगाडि बढेको छ।
प्रधानमन्त्रीको चैत २३ देखि २५ सम्म भएको भारतको राजकीय भ्रमणका क्रममा कृषि क्षेत्रमा साझेदारीका विषयमा समझदारी भएको थियो। जसअन्तर्गत आर्गनिक फामिङ, माटोको स्वास्थ्य परीक्षण, रासायनीक मलको आयात तथा कृषि अनुसन्धानका क्षेत्र समेटिएका थिए।
सोही समझदारी अनुसार कृषि विकास मन्त्री चक्रपाणि खनालले भारत भ्रमण गरी भारतीय पक्षसँग छलफल गरिसकेका छन्। त्यस्तै नेपालका अधिकारीहरुले भारतका विभिन्न स्थानमा अर्गानिक कृषि फामिङ भइरहेका क्षेत्रको समेत अवलोकन गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
कृषिमा साझेदारीका लागि दुई देशका अधिकारीहरुबीच छलफल चलिरहेको भन्दै उनले छिट्टै समझदारीलाई कार्यान्वयन गर्नका लागि समझदारीपत्र (एमओयु) मा हस्ताक्षर हुने जानकारी दिए।
वर्षायाममा नेपालको तराई भुभागमा हुने डुवान समस्याको समाधानका लागि समेत दुई देशका अधिकारीहरुबीच छलफल भइरहेको जानकारी दिए। पहिलो चरणमा दुबै देशका अधिकारीहरुले डुवानमा पर्ने पूर्वी क्षेत्र (सप्तरीको तिलाठी देखि पर्सा सम्म)को अवलोकन गरेको उनले बताए।
अब छिट्टै दुई देशका अधिकारीहरुले नवलपरासी गण्डक क्षेत्रदेखि पश्चिमको क्षेत्रको अवलोकन गर्ने समेत परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
त्यस्तै नेपाल भारतबीचको वाणिज्य सन्धीको समयानुकूल पुनरावलोकनका लागि छलफल भइरहेको समेत बताए। आगामी अगस्तको दोस्रो साता दुई देशका अधिकारीहरुबीच छलफल हुने तय भएको उनले जानकारी दिए।
चीनसँगका सहमति कार्यान्वयनमा समेत सरकार
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ देखि भएको उत्तरी छिमेकी चीनको भ्रमणका क्रममा भएका सहमतिहरुको कार्यान्वयनका लागि समेत छलफल भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
२०७२ सालमा प्रधानमन्त्रीको रुपमा ओलीको चीन भ्रमणका क्रममा भएको व्यापार तथा पारवाहन सन्धीको प्रोटोकलको तयारी समेत भइरहेको उनले जानकारी दिए। ‘भ्रमण पछिको पहिलो तथा समग्रमा दोस्रो बैठक साता अगाडि मात्र बेइजिङमा भएको छ। अब जुलाईको अन्त्यमा नेपालमा अर्को बैठक बस्ने छ,’ उनले भने, ‘अबको बैठकले प्रोटोकललाई टुंगोमा पुर्याउने छ।’
जुलाई १० र ११ गते बेइजिङमा भएको बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे तथा चिनियाँ यातायात सहायकमन्त्री लिउ सियोमिङ नेतृत्वको टोली सहभागी थियो।
बैठकमा प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिने गरी तस्रो परामर्श बैठक काठमाडौँमा गर्ने निर्णय भएको थियो।










