क्लोजिङ प्रेसर:सरकारलाई राजस्व, व्यवसायीलाई ब्याज र बैंकरलाई नाफा दबाब, टार्गेट कसरी पूरा होला?



बिजमाण्डू
२०७५ असार ३२ गते १४:४१ | Jul 16, 2018
क्लोजिङ प्रेसर:सरकारलाई राजस्व, व्यवसायीलाई ब्याज र बैंकरलाई नाफा दबाब, टार्गेट कसरी पूरा होला?

Tata
GBIME
Nepal Life

काठमाडौं। सोमबार आर्थिक वर्षको अन्तिम दिन। राजस्व प्रशासन, व्यवसायी र बैंक तथा वित्तीय संस्थाका कर्मचारी सबैलाई 'क्लोजिङ'को दबाब छ। वर्षभरीको कारोबारको राफसाफ गर्नुपर्ने भएकाले तीनै निकाय आ-आफ्नै दबाबमा छन्।

सरकार जसरी पनि राजस्वको लक्ष्य पूरा गर्न ध्यान केन्द्रित गरिरहेको छ। यसका लागि सबै शक्ति लगाइएको छ। पछिल्लो केही दिनयता राजस्व प्रशासनका अधिकारीहरु लक्ष्य कसरी भेट्ने भन्ने तनावमा मात्रै छन्।

व्यवसायीहरुलाई बैंकको ब्याज र ऋणको दबाब एकातिर छ भने कारोबार राजस्व भूक्तानी गर्नुपर्ने अर्को थरी तनाव छ। व्यक्तिगत तथा संस्थागत आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क समयमै भुक्तानी गर्नुपर्ने भएकाले उनीहरुलाई अन्तिम दिन निकै भारी हुन्छ। बैंकरहरुका पनि आफ्नै लक्ष्य छन्। कर्जाको किस्ता तथा ब्याज असुली, नाफामा वृद्धि र वासलातको आकार तथा अवस्थामा गुणात्मक परिवर्तनको दबाब उनीहरुले झेलिरहेका छन्।

ठूलो लक्ष्य तर कमजोर प्रशासन
७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट ल्याइएको थियो। करका दर परिवर्तन नगरी बजेट ल्याइएकाले अघिल्लो वर्ष विस्तारित आधारभित्रै रहेर २९.३ प्रतिशत राजस्व बढाउने लक्ष्य राखिएको थियो।

चालु आर्थिक वर्षमा राजस्व संकलन सरकारको अपेक्षाअनुसार हुन सकेन। सरकारले चालु वर्षको सुरुका करिब ९ महिनासम्म मासिक लक्ष्य पनि भेट्टाउन सकेन। निर्वाचनका कारण भएको चर्को आयातको आधारमा राजस्व बढ्ने अनुमान गरिएपनि प्रशासनिक कमजोरीका कारण राजस्व असुली सोचेअनुसार नभएको राजस्व प्रशासनका अधिकारीहरु नै स्वीकार गर्छन्।

'सुरुका ९ महिनासम्म नपुगेको लक्ष्य एकैपटक भेट्टाउन खोज्दा दबाब स्वभाविक रुपमा भएको छ,' भन्सार विभागका एक अधिकारीले भने, 'तर यसको अर्थ हामीले सक्दै सक्दैनौँ भन्ने होइन। अन्तिम समयसम्म लक्ष्य प्रयास भइरहेको छ।'

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना कर कार्यालयका प्रमुहरुलाई क्षण क्षणमा 'टार्गेट रिकल' गराइरहेका छन्। प्रत्येक कर कार्यालय र भन्सार इकाईका प्रमुखहरुसँग अपडेट पनि लिइरहेका छन्। 'राजस्वको लक्ष्य पुरा हुन्छ भन्नेमा म विश्वस्त छु,' उनले भने, 'लक्ष्यभन्दा अझ केही थप राजस्व संकलन हुन्छ भन्ने मेरो विश्वास हो।सोमबारसम्म मेरो ध्यान अन्त छैन।अफिसियल वाहेक भेटघाट र फोन उठाएको छैन। '

अर्थ मन्त्रालयका अनुसार लक्ष्य पुरा गर्न सोमबार एकैदिन १५ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ कर संकलन गर्नुपर्छ। यसका लागि सबै कर कार्यालय भन्सारका प्रमुखहरु अन्तिम प्रयासमा जुटिरहेका छन्। 'कति करदातालाई फोन गरेर पनि कर तिर्न बोलाउनु परेको छ,' एक कर कार्यालयका प्रमुखले भने।

क्लाइन्टसँग व्यस्त बैंकर
सोमबार अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृतहरु ठूला क्लाइन्टसँग छलफलमै व्यस्त छन्। लक्ष्यअनुसारको ऋण तथा त्यसको ब्याज असुली गरी धेरै नाफा देखाउन उनीहरु लागि परेका छन्।

'कर कार्यालयसँग सम्बन्धित कामहरु यसअघि नै गरिसकेका छौँ, हाम्रो अहिलेको जोड भनेको असुलीमै केन्द्रित छ,' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, 'क्लोजिङको टार्गेट मिट गर्न सबै लागि परेका छन्।'

बैंकहरुको वर्षभरीको 'पर्फर्मेन्स' देखाउने अवसर वर्षान्त भएकाले दौडधुप बढेको अर्का एक बैंकर बताउँछन्। 'बैंकको सिइओदेखि तल्ला कर्मचारीको पर्फर्मेन्स देखाउने बेला यही हो। उनीहरुले आफ्नो क्षमता प्रस्तुत गर्नुपर्ने बेला भएकाले दबाबमै काम हुन्छ,' एक बैंकरले भने।

व्याजदरले व्यवसायीलाई तनाव
असार मसान्तमा नै राफसाफ गरी हिसाब टुंग्याउनु पर्ने भएकाले व्यवसायीलाई यसले थप दबाब दिने गरेको छ। 'कतिपय हिसाबहरु अर्को वर्ष तन्काउन नमिल्ने हुन्छन्।

तिनीहको व्यवस्थापन पनि तनावपूर्ण हुन्छ,' नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान पशुपति मुरारका भन्छन्, 'त्यसबाहेक पनि बैंकको किस्ता, ब्याज र करको दबाब एकैपटक पर्दा समस्या हुन्छ।'

यो वर्ष ब्याजदरमा उतारचढाव रहेकाले व्यवसायीलाई थप दबाब दिएको हो। 'व्यवसायीले ऋण लिँदा जुन विजनेस प्लान गरेर लिएको हुन्छ व्याजदर बढेकाले त्यो अनुमानअनुसारको काम गर्न उसले सक्दैन,' मुरारकाले भने, 'यसले अतिरिक्त दबाब सिर्जना गरिदिएको छ।'