अनलाइन शेयर कारोबार परीक्षण भोलिदेखि, डाटा सेन्टरमा ब्यस्त ब्रोकर, लगानीकर्ताको पालो कहिले?



बिजमाण्डू
२०७५ असार ३२ गते १३:५८ | Jul 16, 2018

Tata
GBIME
Nepal Life

काठमाडौँ।पूर्ण स्वचालित अनलाइन शेयर कारोबार प्रणालीको मंगलबारदेखि परीक्षण कारोबार सुरु हुने भएको छ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ५० वटै शेयर दलाल (ब्रोकर) मार्फत परीक्षण कारोबार सुरु गर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार अनलाइन प्रणालीकालागि नेप्सेले दिएको निर्देशन अनुसार सबै सदस्य दलाल व्यवसायीले पूर्वाधार तयार गरेका छन्।

अनलाइन प्रणाली कार्यान्वयनमा लैजान धितोपत्र दलाल व्यवसायीले आइतबार दुईवटा डाटा सेन्टर सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेको पराजुलीले बताए।

२५ दलाल व्यवसायीले "सिल्भर लाइन" र २५ ले "एसेस वर्ल्ड"सँग सम्झौता गरेका हुन्। सिल्भर लाइन मर्कन्टायलले प्रवर्द्धन गरेको कम्पनी हो भने एसेस वर्ल्डले केही वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको छ।

नेप्सेले ब्रोकर कम्पनीहरुलाई एकमहिना अघि नयाँ अनलाइन प्रणाली कार्यान्यन गर्न डाटा सेन्टर, डाटा रिकभरी सेन्टर र प्राविधिक संयन्त्र व्यवस्था गर्न निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार व्यवसायीले सम्झौता गरेका हुन्।

मंगलबारदेखि लगानीकर्ताले दलाल व्यवसायी मार्फत अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिन सक्ने पराजुलीको भनाइ छ।

तर लगानीकर्ता आफैँले खरिद बिक्री आदेश भने "युजर एसेप्टेन्स टेस्टिङ (युएटी)" पछि  मात्रै  दिन पाउने पराजुलीले बताए। युएटी यस्तो प्रक्रिया हो जसबाट सफ्टवेयरको प्रोसेसिङ सफल छ वा छैन जाँच गरिन्छ। यो जाँच अर्थात सफ्टवेयरको अन्तिम परीक्षण सकिएपछि मात्रै लगानीकर्ताले कारोबारमा प्रत्यक्ष संलग्न हुन पाउनेछन्।

युएटीका लागि नेप्सेले भारतीय कम्पनी एकेएस ईन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेजसँग सम्झौता गरेको छ।नेप्सेले गरेको सम्झौता अनुसार कम्पनीले दुई महिनामा परीक्षण सक्नुपर्ने छ।

सोही परीक्षणपछि लगानीकर्ताले अनलाइन मार्फत खरिद बिक्री आदेश दिन सक्ने पराजुलीको भनाइ छ।