सेवाको पनि गुणस्तर तोकिने, पर्यटन,यातायात र इन्टरनेटको सेवा गुणस्तर अनुसार नभए कारवाही



बिजमाण्डू
२०७५ असार ३२ गते १२:३७ | Jul 16, 2018
सेवाको पनि गुणस्तर तोकिने, पर्यटन,यातायात र इन्टरनेटको सेवा गुणस्तर अनुसार नभए कारवाही

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले सेवाको समेत गुणस्तर तोक्ने भएको छ।

वस्तुको मात्रै गुणस्तर निर्धारण गर्दै आएको विभागले सेवाको समेत गुणस्तर तोक्न प्रकृया अघि बढाएको छ।विभागका अनुसार पर्यटन,इन्टरनेट,हवार्इ तथा सडक यातायात लगायतका क्षेत्रको गुणस्तर तोक्नेछ।

‘हामीले अहिलेसम्म वस्तुको गुणस्तर निर्धारण गर्दै आएका थियौं।तर अब सेवाको पनि गुणस्तर तोक्ने प्रकृया अघि बढाउँदैछौ।यसका लागि हामीले अध्ययन समिति समेत बनाइसकेका छौं’विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिजमाण्डूसँग भने,’सेवा क्षेत्रको विस्तार बढ्दो क्रममा छ।तर उपभोक्ताले भने सेवाको गुणस्तर पाउन सकेका छैनन्।‘उनका अनुसार सबैभन्दा बढी इन्टरनेट सेवा प्रदायकबाट उपभोक्ता ठगिएका छन्।‘अहिले सबैभन्दा बढी इन्टरनेटमा उपभोक्ता ठगिएका छन्।

इन्टरनेट जोड्दा एउटा प्याकेज भन्ने तर वास्तविक रुपमा उपभोक्ताले त्यो प्याकेज अनुसार सेवा नपाउने समस्या बढ्दो क्रममा छ’पुडासैनीले भने,हामीले यही देखेर सेवाको गुणस्तर तोक्नुपर्ने अवस्था आएको हो।योसँगै होटलको पनि सेवाको गुणस्तरका आधारमा वर्गीकरण गर्नुपर्ने अवस्था छ।‘उनले होटलको वर्गीकरण गरिएपनि सेवाको गुणस्तरको अनुगमन नभएको बताए।

पुडासैनीका अनुसार सेवाको गुणस्तर तोकेपछि आफ्नो क्षेत्राधिकारका आधारमा सरकारी निकायले कार्यान्वयनमा लैजानेछन्।‘हामीले सेवाको गुणस्तर तोक्नेछौं।तर यो कार्यान्वयन गर्ने निकाय भने जुन मन्त्रालय र विभाग छन् ती निकायबाटै हुनेछन्’उनले भने,हामीले सेवाको गुणस्तर तोक्ने र त्यो कार्यान्वयन हुने अवस्था आएमा उपभोक्ताका लागि माइलस्टोन हुनेछ।‘पुडासैनीका अनुसार सेवाको गुणस्तर तोक्ने बारेमा प्रधानमन्त्री कार्यालयलार्इ समेत जानकारी गराएर काम अघि बढाइएको छ।